हुलाकी न्यूज,काठमाडौँ :आज माघ १५ गते तत्कालीन पञ्चायती सरकारले दुर्गानन्द झालाई मृत्युदण्ड दिइएको दिन। देशमा लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको सपना देखेका दुर्गानन्दलाई २१ वर्षमै मृत्युदण्ड दिइएको थियो।

लोकतन्त्र र गणतन्त्रका लागि सहादत दिएको भन्दै दुर्गानन्दको स्मरण गर्दै हरेक वर्ष बलिदानी दिवस मनाइन्छ। यस वर्ष दुर्गानन्दको ५७ औँ बलिदानी दिवस मनाइँदै छ।

धनुषाको जटही हाल नगराईन नगरपालिकामा वि.सं.१९९४ वैशाख १४ गते दुर्गानन्दको जन्म भएको थियो। बुबा देवनारायण झा र  आमा सुकुमारीदेवी झाको एकमात्र छोरा थिए, उनी।

सानै उमेरदेखि क्रान्तिकारी स्वाभावका दुर्गानन्दलाई मुलुकमा राजाको होइन जनताको शासन हुनुपर्ने लागेको थियो। यहि सोँचका साथ दुर्गानन्दले पञ्चायतविरोधी आन्दोलनमा होमिए।

पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले जबजरजस्ती पञ्चायत लादेको उमेर कमै भएपनि दुर्गानन्दले बुझिसकेका थिए। भारतका स्वतन्त्रता सेनानी भगत सिंह र चन्द्रशेखर आजादले उनलाई हदैसम्म प्रभावित गरेको थियो।

भगत र चन्द्रशेखरले भारतलाई अंग्रेज शासकको औपनिवेश हटाउन खेलेको भूमिकाले हौसाएको थियो, दुर्गानन्दलाई।

विद्यालय पढ्दै गर्दा २०१५ सालको प्रथम आमनिर्वाचनमा प्रजातन्त्रको पक्षमा होमिएका थिए, उनी। विद्यालयको पढाइ सकेर उच्च शिक्षाका लागि भारततर्फ लागे।

भारतमा अध्ययन गरिरहँदा उनको सम्पर्क नेपाली कांग्रेसका नेताहरुसँग भयो। कांग्रेसका तत्कालीन नेताहरु भारतमा बसेर महेन्द्रविरुद्ध तानबाना बुनि रहेका थिए।

सुरुमा निर्वासित जीवन बिताइरहेका महोत्तरी कांग्रेसका जिल्ला सचिव ज्ञानीशंकर गिरीसँग उनको सम्पर्क भयो। त्यसपछि गिरीले दुर्गानन्दलाई त्यसबेलाका विघटित संसदका सदस्य सरोज कोइरालासँग उनको भेट गराए। क्रान्तिकारी स्वभावका सरोजसँगको भेटपछि दुर्गानन्दको जीवनमा नयाँ मोड आयो। कांग्रेस नेताहरुको संगतले क्रुर पञ्चायती शासनविरुद्ध संघर्ष गर्न थप उर्जा प्रदान गर्‍यो, दुर्गानन्दलाई।

२०१७ साल पुष १ गते बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरेका महेन्द्रप्रति उनको आक्रोश छँदै थियो। र, संयोगले जानकी मन्दिर दर्शन गर्न महेन्द्र जनकपुर आउने खबर दुर्गानन्दले थाह पाए।

कांग्रेस नेताहरुको योजनाअनुसार दुर्गानन्द २०१८ माघ ८ गते बम बोकेर जनकपुर पुगे। ९ माघमा जनकपुर पुगेर जानकी मन्दिरमा पूजाअर्चना गर्ने महेन्द्रको कार्यक्रम उनले जानकारी पाएका थिए।

तत्कालीन राजा महेन्द्र आउने भएपछि जनकपुरको सुरक्षाव्यवस्था कडा पारिनु स्वभाविक नै थियो। तर सुरक्षा व्यवस्थाको थोरै पनि परवाह थिएन हिम्मती र साहसिक दुर्गानन्दलाई।

बम बाकेर जानकी चोकमा महेन्द्रलाई कुरेर बसिरहेका थिए, उनी। सुरक्षा निकायका खुफियाहरु पनि बेखबर थिए, बम हान्ने उनको योजनाबाट। साँझ ५ राजा महेन्द्रको चढेको ल्यान्डरोभर गाडी रोकिनसाथ दुर्गानन्दले बम प्रहार गरे। संयोग नै थियो महेन्द्र चढेको गाडीमा प्वाल परे पनि उनी सुरक्षित रहे।

दुर्गानन्दले अर्का कांग्रेसी साथी अरविन्द ठाकुरसँग मिलेर जनकपुर विमानस्थलमै महेन्द्रमाथि बम प्रहार गर्ने योजना बनाएका थिए। राजा महेन्द्रमाथि बम प्रहार गर्ने जिम्मेवारी अरविन्दलाई दिइएको थियो।

कुनै कारणवश विमानस्थलमा बम प्रहार गर्ने योजना विफल भएको अवस्थामा दुर्गानन्दले जानकी मन्दिर पुग्ने महेन्द्रमाथि बम फ्याल्नुपर्ने योजना थियो। तर अरविन्द विमानस्थलबाटै पक्राउ परेपछि दुर्गानन्दले महेन्द्रको गाडीलाई लक्षित गरेर जानकी मन्दिरमा बम प्रहार गरेका थिए।

राजा महेन्द्रमाथि बम प्रहार गरेपनि तिक्षण र फुर्तिलो स्वभावका दुर्गानन्दलाई भने प्रहरीले पक्राउ गर्न सकेन। र, उनी पुनः भारत पुग्न सफल भए। तर बमकाण्डको आरोपमा प्रहरीले ५९ जनालाई पक्राउ गरिसकेको थियो।

बमकाण्डमा निर्दोष मानिसहरुलाई पक्राउ गरी प्रहरीले कुटपिट तथा यातना दिइरहेको उनले थाह पाए। र, यो कुरा उनले बर्दास्त गर्न सकेनन्। तीन महिनापछि भारतको जयनगरबाट जनकपुर फर्किँदै गर्दा परवाहा स्टेशनबाट पक्राउ परे, दुर्गानन्द।

पक्राउ परेको दोस्रो दिन महोत्तरीको प्रकौलीस्थित सैनिक व्यारेकमा ल्याई हेलिकप्टरले दुर्गानन्दलाई काठमाण्डौं पुर्‍याइयो।

२०१९ भाद्र १९ गते कुनै सुनवाइ नै नगरी विशेष अदालतले दुर्गानन्दलाई मृत्युदण्ड दिने फैसला सुनायो। त्यतिबेलाका प्रधानन्यायाधीश भगवतीप्रसाद सिंहको इजलासले फैसला सुनाएको थियो। २०१९ फागुन २० गते सर्वोच्च अदालतका न्यायाधीशद्वय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायको संयुक्त इजलासले सदर गर्‍यो।

सर्वोच्चले फैसला सदर गरेको ठीक एक वर्षपछि २०२० माघ १५ गते राती सुन्धारास्थित केन्द्रीय कारागारमा गोली हानी उनको हत्या गरिएको वरिष्ठ पत्रकार राजेश्वर नेपाली बताउँछन्।

दुर्गानन्दलाई फाँसी दिने फैसला अदालतले सुनाएपनि तत्कालीन राजा महेन्द्रको ठाडो आदेशले दुर्गानन्दलाई गोली हानेर हत्या गरिएको थियो। गोली हानेर हत्या गरिएका दुर्गानन्दको उमेर त्यतिबेला २१ वर्षमात्र थियो।

त्यतिबेला ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने व्यवस्था मुलुकी ऐनले गरेको थियो। ब्राह्मण्लाई मृत्युदण्ड दिन नहुने व्यवस्थाकै कारण १९९७ सालमा टंकप्रसाद आचार्य र रामहरि शर्मालाई मृत्युदण्ड नदिइ आजीवन कारावासको सजाय सुनाइएको थियो।

तर, दुर्गानन्दलाई मृत्युदण्ड दिनैपर्ने महेन्द्रको अडानका कारण मुलुकी ऐन नै संशोधन गरियो। २०२० भदौ १ मा मुलुकी ऐनमा संशोधन गरेर दुर्गानन्दलाई मृत्युदण्डको सजाय सुनाइएको थियो।

मृत्युदण्ड दिइनुभन्दा पाँच दिनअघि माघ १५ गते दुर्गानन्दकी आमा सुकुमारी र श्रीमती काशीदेवी झालाई जनकपुरबाट काठमाण्डौं लगिएको थियो। दुर्गानन्दलाई मृत्युदण्डदिन कसाइपुग्दा आमा र श्रीमती दुबैजना कारागारकौ गेटमै उभिरहेका थिए बताउँछन् वरिष्ठ पत्रकार नेपाली।

मृत्युदण्ड दिइनुभन्दा केहि दिनअघिमात्र दुर्गानन्दले आफ्ना साथी अरविन्द र दलसिंह थापालाई भनेका थिए,‘म अब कलिल्यै नफर्किने गरी लामो यात्रामा जाँदै छु। तर चिन्ता नलिनुस मुलुकमा गणतन्त्र अवश्य आउने छ।’

६० वर्षअघि दुर्गानन्दले देखेको सपना अहिले पुरा भएको छ। मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत भएको छ। क्रुर पञ्चायती व्यवस्था अन्त्य गरी प्रजातन्त्र र गणतन्त्रका लागि आफ्नो ज्यान दिएका दुर्गानन्दलाई शहीद घोषणा गर्न ५२ वर्ष लाग्यो।

र, २०७२ सालमा नेपाल सरकारले शहीद घोषणा गर्‍यो। दुर्गानन्द नेपालको पहिलो गणतान्त्रिक शहीदको नामले समेत चिनिन्छन्। २०४६ सालको पहिलो जनओन्दोलनपछि मुलुकमा प्रजातन्त्र आइसकेपछि जानकी मन्दिर परिसरमा रहेको राजा महेन्द्रको शालीक रहेको स्थानमा दुर्गानन्दको प्रतिमा राख्न सरकारले प्रस्ताव गरेको थियो।

तर, महेन्द्रका छोरा तत्कालीन राजा वीरेन्द्रले सरकारको यो प्रस्ताव अस्वीकार गरेको बताइन्छ। यद्यपी  आन्दोलनकै क्रममा आन्दोलनकारीले महेन्द्रको शालीक जानकी मन्दिर परिसरबाट तोडि दिएका थिए।

मुलुकमा गणतन्त्र ल्याउन आफ्नो ज्यानै गुमाएका दुर्गानन्दका श्रीमती काशीदेवीलाई पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीले समानुपातिक कोटाबाट सभासद बनाउनुबाहेक राज्यले खासै केहि गरेको देखिँदैन्।साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.