हुलाकी न्यूज,जुम्ला : जुम्लाको तिला गाउँपालिका – ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको क्षति भएको छ। सो आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताए।

सो आगलागी भएका घरबाट करीब ६४ वटा पशुचौपाया जलेर मृत्यु भएको वडाअध्यक्ष हस्त बुढाले बताए । सुधारिएको चुलोेको माथिल्लो भागबाट एक घरको छानोमा रहेको घाँसमा आगो सल्किएपछि गाउँभरि फैलिएको वडाध्यक्ष बुढाले बताए। आगलागी भएको गाउँमा अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी र स्थानीवासीले आगो नियन्त्रणमा लिएको वडाध्यक्ष बुढाले बताए।

आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करीब चार घण्टा लाग्छ। काठैकाठका घर बढी भएकाले आगलागी बढेको सो गाउँका स्थानीयवासी बताउँछन्। मानवीय क्षति भने भएको छैन । राहतको लागि कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसँग समन्वय भई प्रदेशबाट केही राहतका सामग्री ल्याएर आउने तयारी रहेको गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताए।

हिउँदे वर्षा र हिमपात नहुँदा किसान चिन्तित

जुम्लामा हिउँदे वर्षा र हिमपात नहुदाँ यहाँका किसान चिन्तित भएका छन्। यस वर्ष हिउँद याममा हिमपात र पानी नपर्दा हिउँदे बालीनाली उत्पादनमा असर पुग्ने तिला गाउँपालिका– २ का किसान रतनबहादुर रोकायाले बताए।

उनले भने, “गत वर्षको मङ्सिर, पुस र माघमा गरी पाँच पटक हिमपात र वर्षा भएको थियो । हिउँदे बालीदेखि नयाँ स्याउ बिरुवालाई फाइदा गरेको थियो ।” यो वर्ष माघको मध्यमा पनि हिपतात र वर्षा नहुँदा स्याउका बिरुवादेखि हिउँदेखेतीलाई असर परेको किसान रोकायाले बताए । ”

हिउँदेयाममा पानी नपरेकाले गहुँ, तोरी, फापरलागयतका बालीमा सुख्खा लागेकाले ४० देखि ६० प्रतिशत उत्पादन घट्ने सम्भावना रहेको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले बताए । “माघ महिनाभित्र पानी परे केही राहत मिल्छ । धेरै नोक्सानी हुँदैन”, उनले भने । हिउँदे बालीलाई कात्तिक र मङ्सिरमा पानी पर्दा उत्पादन वृद्धि हुने कार्यालय प्रमुख देवकोटाले बताए ।

यो वर्षको जाडोमा पश्चिम र पूर्वका केही क्षेत्रमा छिटफुट पानी परे पनि विगतमा जस्तो हिउँदे वर्षा भएको छैन । बाली लगाउन समस्या हुने तथा आकाशे पानीको भर पर्ने किसानका गहुँलगायत बालीमा प्रभाव पर्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । हिमाली जिल्लामा यसवर्ष धैरे वर्षा र हिमपात परेको छैन । पश्चिमका केही स्थानमा हल्का पानी परेको भए पनि अन्य ठाउँमा तीन महिनादेखि पानी नपरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.