हुलाकी न्यूज,जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ मा कमिसनको राज भत्काउन कम्युनिष्टहरु अगाडि आउनुपर्ने बताएका छन् ।

मंगलबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका साहले प्रदेश २ सरकारको भ्रष्टाचार र कमिसखोरीले मधेसको बदनाम भएको भन्दै त्यसको अन्त्यको लागि प्रदेशको नेतृत्व कम्युनिष्टहरुले गर्नुपर्ने बताए। राजनीति राष्ट्र र समाजको सेवाका लागि हुनुपर्नेमा प्रदेश २ मा मधेशी दलले राजनीतिलाई व्यापार बनाई निहित स्वार्थ पूर्ति गरिरहेको नेता साहको आरोप छ ।

तपाईं हामीले देखिरहेका छौँ, हाम्रो प्रदेशमा खुलेआम लुटतन्त्र छ । सिंगो प्रदेश भ्रष्टाचारमा लिप्त छ । हिजो काठमाडौंको केन्द्रीकृत शासनलाई हामीले जनकपुरमा ल्यायौं। जनताको ठूलो भरोसा थियो कि जनकपुरबाट सुशासन कायम हुन्छ भनेर। तर यहाँ दिउँसै कमिसनको खेल हुन्छु, नेता साहले भने, ुप्रदेश २ को कमिसनको राजलाई भत्काउन अब कम्युनिष्टहरु अगाडि आउनुको विकल्प छैन ।

जनकपुरमा रहेका प्रदेश मन्त्रालयहरु विकासका लागि नभई बजेट बेच्ने पसल जस्तो बनेको छ। जहाँ कमिसनमा बजेटको व्यापार हुन्छ। आफू केही नगर्ने, संघ सरकारले गर्न खोज्दा गर्न नदिने प्रवृत्ति प्रदेश सरकारमा हाबी छ, नेता साहले थपे, यस भ्रष्ट सञ्जालको अन्त्य नगरेसम्म यस प्रदेशले गरिबी, पछौटेपन र बेरोजगारीबाट उन्मुक्ति पाउन सक्दैन। यी तमाम कुरीतिको अन्त्य गर्न प्रदेश २ मा अब कम्युनिष्ट नेतृत्वको आवश्यक्ता छ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, नेकपा स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य रघुवीर महासेठ, प्रदेश सचिव सुमन प्याकुरेल, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोलगायतको उपस्तिथि थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.