रमेश ठाकुर, रौतहट १८ कार्तिक ।
जारी मधेश आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्दै बुधबार रौतहटको सदरमुकाम गौरमा राजपुत समुदायले तरबार जुलुस प्रदर्शन गरेका छन् । राजपुत जातीका सिंहहरुले ‘सिंह ईज किंग’ को चर्को नारा लगाउँदै तरबार जुलुस निकालेका हुन् ।
लामो समयदेखी मधेशमा आन्दोलन चलिरहँदा पनिसरकार गम्भीर नभएको तथा शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरेको विरोधमा सरकारलाई खबरदारी स्वरुप उक्त प्रदर्शन गरिएको आन्दोलनकारीले बताएका छन् ।
जुलुसका सहभागीहरुले प्रहरीले विरगंज लगायतका सहरमा मधेशी जनतामाथि र्बबरता पूर्वक दमन गरी रहेकोले राजपुत समुदायले तरवार जुलुस प्रर्दशन गर्दै दमनकारी सरकारलाई बेलैमा होस पु¥याउन चेतावनी दिएको बताएका छन् ।
पारम्परिक भेषभुसा धारण गरेका राजपुत समुदायको जुलुसमा सहभागी महिलाहरु समेत हातमा तरबार बोकी आफुहरुलाई झाँसी की रानी बन्न बाध्य नपार्न सरकारलाई आग्रह गरेका थिए । यदि समयमै प्रहरी दमन बन्द नभए देशमा ठुलो रक्तपात हुने जुलुसका सहभागी महिलाहरुको चेतावनी रहेको थियो ।
विगत ८२ दिन देखी तराई मधेशमा आन्दोलन जारी रहँदा पनि सरकारले मधेशका जायज मागप्रति वास्ता नगरेको तथा लामो समयको आमहड्ताल र नाकाबन्दीले सबै नेपालीको जनजिवन कष्टकर हुँदा समेत त्यस प्रति सरकार उदासिन देखिएकाले सरकारलाई चेतावनी स्वरुप तरवार जुलुस प्रदर्शन गरिएको प्रदर्शनमा सहभागी तमलोपाका नेता अनिल सिंहले बताए । उनले केपी शर्मा ओली नेतृत्वको सरकार पागलहरुको अखाडा बनेको बताउँदै मधेशका जनतालाई ओलीको बोली सहन अब फुर्सत नरहेको र अबको लडाई आर पारको हुने बताए ।
संयूक्त लोकतान्त्रिक मधेशी मोर्चाको तराई मधेशमा जारी आमहडतालको ८२ औं दिन राजपुत समाजद्वारा सदरमुकाम गौरमा निकालिएको उक्त तरवार जुलुसमा दश हजार भन्दा बढि मानिसहरुको सहभागिता थियो ।
गाँउगाँउबाट तरवार र खुकुरी बोकी आएका राजपुतहरु गौरको मधेश क्रान्ति चौक देखि भारत नेपाल सीमासम्म तरबार प्रर्दशन गर्दै गर्जेका थिए ।
त्यस्तै बुधबार नै सदरमुकाम गौरमा राजपुत समाजलगायत मारबाडी समाज, कलवार समाज र साधु सन्यासीहरुले पनि वृहत जनप्रदर्शन गरेका छन् । मधेशमा जारी आन्दोलन प्रति एक्यबद्धता जनाउँदै विभिन्न बाजागाजासहित उनीहरु पनि प्रदर्शनमा उत्रेका हुन् । मधेशीको माग पुरा गर भन्दै बाँसको भाटा सहित नयाँ बसपार्कबाट सुरु गरेको ऐक्यबद्धता जुलुस गौर नगरको परिक्रमा गर्दै नाकाबन्दी स्थलमा गएर सम्पन्न भएको थियो ।







