हुलाकी न्यूज,काठमाडौँ : तारकेश्वर नगरपालिका–७ मा विद्यार्थी विद्यालय मात्र जाँदैनन् कृषि फार्ममा गएर खेती गर्न पनि सिक्छन् । मनमैजुस्थित एन्जल हर्ट बोर्डिङ स्कुलका कक्षा ८ का ८२ जना विद्यार्थी प्रयोगात्मक कक्षाका लागि मल्टिपल डेभलपमेन्ट सर्भिस (एमडीएस एग्रो फार्म)मा जाने गरेका छन् ।

रामप्रसाद जुगजालीको अध्यक्षतामा १५ जनाको समूहले भत्केको पार्टीमा सामूहिक कृषि फार्म सञ्चालन गरी अर्गानिक तरकारी फलफूलको उत्पादनसँगै स्कुलहरूसँग समन्वय गरी विद्यार्थीलाई खेतीबारे सिकाउने अभियान थालेको हो।
फार्मका निर्देशक होमप्रसाद भुसालले स्कुल पढ्दै खेती गर्ने २५ दिनको प्रयोगात्मक कक्षामा पहिलो चरणमा यी विद्यार्थी आएको बताउनुभयो । साताको छ दिनको कक्षामा एक दिन प्रयोगात्मक कक्षा हुन्छ भने २५ दिनको सिकाइमा तरकारीका लागि जमिन तयार गर्नेदेखि फलेर पकाएर खानेसम्मको तालिम दिइन्छ ।

दुई वर्षअघि ३५ रोपनी जग्गा भाडामा लिएर सुरु भएको उक्त एमडीएस एग्रो फार्ममा विद्यार्थीले काँक्रो, लौका, फर्सी, तितेकरेलालगायत १५ थरी मौसमी तरकारी रोप्न, जमिन तयार गर्ने, बीउ रोप्नेबारे सिक्दै छन् । साथै रोग÷कीरा लागेमा पनि स्वास्थ्यको दृष्टिकोणले उत्तम मानिएको अर्गानिक विधिबाट उपचार गर्न समेत सिक्नेछन् ।

सो स्कुलले छनोट गर्न पाउने ऐच्छिक विषयअन्तर्गत विद्यार्थीलाई प्रशिक्षणमा पठाए पनि यसको व्यावहारिक उपयोगिता देखेर यस विषयलाई अनिवार्य बनाउनुपर्नेबारे पनि छलफल भइरहेको निर्देशक भुसालले बताउनुभयो ।

स्थानीय तहले पाठ्यक्रम बनाउने अधिकार पाएको अहिलेको सन्दर्भमा कृषिलाई प्राथमिकता दिएर पाठ्यक्रम तयार गरेर विद्यार्थीलाई यस्तो फार्ममा प्रयोगात्मक अभ्यासका लागि समन्वय गर्न सकिने सुझाव उहाँले दिनुभयो ।
पाठ्यक्रम तयार नभएको अवस्थामा पनि स्कुल छुट्टीको समयमा सो फार्ममा गएर जमिन तयार गर्ने, बीउ रोप्ने, त्यस बालीलाई असर गर्न सक्ने रोगबारे जानकारी लिन सक्ने बताउनुभयो ।

फार्ममा प्रयोगात्मक विधिबाट खेती गर्न सिकाउन हालसम्म एन्जल हर्ट बोर्डिङ स्कुल, नेसनल बोर्डिङ स्कुल, तेजस्वी बोर्डिङ स्कुल र हिमरस्मी बोर्डिङ स्कुलले सम्झौता गरिसकेको र अरूले पनि रुचि देखाएको निर्देशक भुसालको भनाइ छ।गोरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.