हुलाकी न्यूज,महोत्तरी : लालपुर्जा हातमा पर्दा महोत्तरीको बल्वा नगरपालिका–६ का ७० वर्षीय माधो मण्डलको खुसीको सीमा रहेन । उनले लालपुर्जा समात्नुअघि र समातेपछि पनि नमस्कार गर्दै भने, ‘लालपुर्जा दिनभो, धन्यवाद ।’ बल्वा नगरपालिकाका मेयर विनोद यादवले लालपुर्जा थमाउँदा उनी नियालेर हेरिरहेका थिए । उनले वर्षौँपछि लालपुर्जा पाएका थिए ।

त्यही गाउँकी पवीदेवी मण्डलले पनि लालपुर्जा पाउँदा खुसी जनाइन् । नाति–पनातिनी हुँदा पनि कागजात नहुँदा लालपुर्जा नपाएकी उनले भनिन्, ‘बल्ल आफ्नो जग्गा भयो ।’उनका छिमेकी ७० वर्षीय खोदादिन अन्सारीको अनुहारमा पनि चमक थियो । ‘जग्गा भए पनि लालपुर्जा नहुँदा चिन्ता थियो, कसैले लग्ने पो हो कि भन्ने डर थियो,’ अन्सारीले भने, ‘अब आफ्नै जग्गा भएको छ ।’

महोत्तरीको बल्वा नगरपालिका–६ का वासिन्दाले चार पुस्तापछि आफ्नो जग्गाको लालपुर्जा पाएका छन् । चार पुस्तादेखि बस्दै आएका भए पनि उनीहरूसँग लालपुर्जा थिएन । अहिले जिल्ला नापी कार्यालयले बल्वा–६ का पाँच सय दुई परिवारलाई लालपुर्जा वितरण गरेको हो । नापी, मालपोत र बल्वा नगरपालिकाले विभिन्न सरोकारवाला निकायको उपस्थितिमा लालपुर्जा प्रदान गरेको छ ।

यो क्षेत्रमा ०७० मै नापी भएको थियो । तर, उनीहरूसँग कागजात नहुँदा लालपुर्जा पाउन सकेका थिएनन् । वर्षौँदेखि भोगचलन गर्दै आएका परिवारलाई लालपुर्जा वितरण गर्न थालिएको बल्वा नगरपालिका मेयर विनोद यादवले बताए । उनले वास्तविक जग्गाधनीले लालपुर्जा पाउनेमा विश्वस्त रहन आग्रह गर्दै सार्वजनिक र सामुदायिक जग्गाको संरक्षण गर्न नापी, मालपोत तथा नगरपालिकासमेत प्रतिबद्ध रहेको बताए ।

नापी कार्यालय महोत्तरीका प्रमुख राकेशकुमार झाले आफू महोत्तरी आएको एक महिनाभित्रै लालपुर्जा वितरण गर्न सुरु गरेको बताए । यसअघि गौशालाका बासिन्दालाई लालपुर्जा वितरण गरेको र अहिले बल्वामा वितरण भइरहेको उनले बताए । अब जिल्लाभरि नै लालपुर्जा वितरण गरिने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.