हुलाकी न्यूज,काठमाडौँ : गैरकानुनी रूपमा इन्स्टिच्युट सञ्चालन गरी विद्यार्थीबाट करिब ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा धनगढीमा मल्टिस्किल इन्स्टिच्युट अफ टेक्नोलोजी प्रालिका सञ्चालक ३४ वर्षीय राजाराम चौधरी पक्राउ परेका छन् । उनलाई कैलालीको लम्कीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका-८ का ३४ वर्षीय चौधरीले धनगढीमा मल्टिस्किल इन्स्टिच्युट अफ टेक्नोलोजी प्रालि सञ्चालन गर्दै आएका थिए । उनले विद्यार्थीबाट ४९ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको थियो । उनी ०७३ मंसिरदेखि फरार थिए ।
सिटिइभिटीबाट सम्बन्धन लिएको भन्दै उनले विभिन्न प्राविधिक विषयको पठनपाठन गराउन इन्स्टिच्युटमा विद्यार्थी भर्ना लिएका थिए । एक सय १८ जना विद्यार्थीबाट भर्ना शुल्क उठाएर फरार भएपछि सिटिइभिटीबाट सम्बन्धन नलिएको खुलेको थियो ।
विद्यार्थीको जाहेरीका आधारमा प्रहरीले चौधरीविरुद्ध ठगी मुद्दा चलाएको थियो । प्रहरीका अनुसार जिल्ला अदालत, कैलालीले ०७४ चैतमा तीन लाख २८ हजार जरिवाना दुई महिना कैद तोकेको थियो । कैद भुक्तान गरेपछि चौधरीले विद्यार्थीलाई विभिन्न प्राविधिक विषय पढाउने बहानामा पुनः ठगी गरेको जिल्ला प्रहरी कार्यालयका एसपी प्रतीक विष्टले बताए । त्यसपछि पनि उनले मल्टिस्किल इन्स्टिच्युट अफ टेक्नोलोजी सञ्चालन गरेर विद्यार्थी ठगेको पाइएको छ ।
दोस्रोपटक उनले भर्ना शुल्क र मासिक शुल्कका नाममा विद्यार्थीबाट थप १९ लाख ६५ हजार ठगी गरेको प्रहरीले जनाएको छ । सिटिइभिटीबाट मान्यता प्राप्त कृषि जेटिए र भेटनरी पढाउने भन्दै उनले विद्यार्थीबाट रकम असुली गरेका थिए । तर, परीक्षा नै सञ्चालन नभएपछि विद्यार्थीले आफू ठगिएको थाहा पाएका थिए ।
अहिले अर्को ठगीमा पक्राउ परेपछि उनको विगतको ठगीधन्दा पनि बाहिर आएको एसपी विष्टले बताए । अहिले धनगढी उपमहानगरपालिका-१, की अनिता चौधरीलाई भारतको बेंगलोरबाट बिएस्सी नर्सिङ पास गरेको प्रमाणपत्रहरू त्रिभुवन विश्वविद्यालयबाट मान्यता दिलाउने प्रलोभनमा पारेर राजारामले पाँच लाख रुपैयाँ ठगी गरेका थिए । अनिताले आफू ठगिएको भन्दै चौधरीविरुद्ध उजुरी दिएपछि प्रहरीले राजारामको खोजी सुरु गरेको थियो । सोही उजुरीका आधारमा खोजी गर्दा कैलालीको लम्कीबाट चौधरीलाई पक्राउ गरिएको एसपी विष्टले बताए ।



