अमरेन्द्र कुमार यादव, धनुषा १८ कार्तिक । एमबिबिएसको पूरक परीक्षामा परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा चलिरहेको परीक्षामा भाइको ठाउँमा परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत मधुवनीका २५ वर्षीय मोहम्मद अफताव आलम रहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
आलम अहिले ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक हरिहर ढकालले जानकारी दिएका छन् ।
परीक्षा सुरु भएको २० मिनेटमै अफतावले उत्तरपुस्तिका बुझाएपछि शंका लागेर छानविन गर्दा नक्कली परीक्षार्थी भन्ने थाहा भएको हो । परीक्षाकेन्द्रका केन्द्राध्यक्ष सुधिर आचार्य, सहकेन्द्राध्यक्ष जितेन्द्र यादव र परीक्षा प्रशासन अधिकृत सिके राईको लापरबाहीमा यस्तो विद्यार्थी फेला परेको श्रोतले जनाएको छ ।
उनीहरुले यसअघि पनि पैसाको चलखेल गरी नक्कली परीक्षार्थीमार्फत केही विद्यार्थीको परीक्षा दिलाउने र सेन्टर नै अन्य ठाउँमा सार्ने गरिएको नाम नखोल्ने सर्तमा एक कर्मचारीले जनाएका छन् ।



