हुलाकी न्यूज,सप्तरी : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले हिटलरको शैली प्रदर्शन गरेको आरोप लगाएका छन्।
सप्तरीको राजविराजमा शुक्रबार प्रेस मञ्च तथा प्रेस नेपालद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
‘स्वेच्छाचारी भएका कारण हिटलरको पतन भयो, संविधान मिचेर संसद विघटन गरेका प्रधानमन्त्री ओलीको पनि पतन निश्चित छ’, नेता महतोले भने ।
नश्लिय चिन्तनको आधारमा बनाइएका पहिलेका सात वटा संविधान असफल भएको उदाहरण दिँदै उनले संविधानसभाबाट निर्माण गरिएको वर्तमान संविधान पनि त्रृटीरहित नहुन सकेका कारण आफूहरु त्यसलाई सच्याउने अभियानमा लागेको स्पष्ट पारे ।उनले भने, ‘मुलुकलाई सबैको साझा बनाउनका लागि सर्वस्विकार्य संविधान बनाउने उद्देश्यका साथ हामी वैकल्पिक शक्ति निर्माणको अभियानमा जुटेका छौं ।’प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विषय अहिले अदालतमा विचाराधिन रहेको भन्दै अदालतले दिने निर्णयको प्रतिक्षामा आफूहरु रहेको उनको भनाइ छ । ‘पहिले अदालतको निर्णय आओस्, त्यसपछि कसरी अघि बढ्ने कुराको भविष्यमा निर्णय हुनेछ’, नेता महतोले थपे ।



