हुलाकी न्यूज,धनुषा : धनुषाको धनौजीस्थित भडरियाबाट भारत प्रवेश गर्ने बेलौती नदीको पुल ११ महिनादेखि बन्द छ । व्यवहारमा भने सीमा खुला नै छ । पुलमुनि र आसपासबाट नदी तरेर आवतजावत भने रोकिएको छैन ।

सुरक्षाकर्मीले सर्वसाधारणलाई आवतजावतमा कडाइ गरे पनि तस्करी भने नियन्त्रण गर्न सकेका छैनन् । दुई देशका सुरक्षा निकायले व्यापारीसँग आर्थिक लेनदेन गरी सीमा बन्द भएका बेला तस्करीको संरक्षण गरेको स्थानीयको आरोप छ ।

दैनिक उपभोग्य बस्तु, कपडालगायतका सामान भारतीय बजार हरिणेबाट चोर बाटो हुँदै नेपालतर्फ आउने गरेको छ । साँझ र बिहान साइकलमा व्यापारीको सामान तस्करी गर्नेहरू धनुषाका विभिन्न बजारसम्म पुग्ने गरेका छन् ।

प्रदेश २ का ८ वटै जिल्ला भारतीय सीमासँग जोडिएका छन् । नाका खुलाउन धनुषासहित प्रदेश २ का जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापनपत्र बुझाउँदै स्थानीयले सीमामै धर्नासमेत दिएका थिए । सीमा बन्द हुँदा दैनिक उपभोग्य सामानको मृल्य बढ्नुका साथै औषधि उपचारमा पनि समस्या भएको नेपाल–भारत खुला सीमा संवाद समूहका संयोजक राजीव झाले बताए ।कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.