हुलाकी न्यूज, सप्तरी : जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन आवश्यक रहेको बताएका छन्।
जसपाले सप्तरीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महतोले केपी ओली प्रतिगमनकारी भएकोले पतन हुन आवश्यक रहेको बताए।
संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षाकालागि जनताले पुनः सङ्घर्ष गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। महतो र ओली मिलेको छ भनी गलत प्रचार गरेर मधेशलाई कमजोर बनाउने षडयन्त्र भईरहेकोले यसबाट सचेत रहन आमजनतासँग आग्रह गरे।
लोकतन्त्रको रक्षाका लागि वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न आमजनतालाई अपील गर्दै नेता महतोले जसपा विभाजनको भ्रमबाट मुक्त रहन सचेत गराएका हुन्।
सिमानाकाहरु बन्द गरेर वर्तमान सरकारले तस्करीलाई बढावा दिएको आरोप महतोले लगाए। महतोले भने ‘सिमा क्षेत्रमा रहेको सामाजिक, धार्मिक तथा सामाजिक सम्वन्धमाथि प्रहार गरेको छ, सिमानाका बन्द राखेकोले खेत तथा नदीनाला भएर पैदल आवतजावत गर्नुपर्ने अवस्था छ।’
कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले संविधान उल्लंघन गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मुद्दा चलाउनुपर्ने माग गरेका छन्।
सर्वसाधारणले कानून विपरीत कार्य गरेमा कारवाहीको भागिदारी बन्नुपर्ने चर्चा गर्दै उनले भने ‘प्रतिनिधि सभाको पुनरवहाली तथा संवैधानिक कदमको खारेजी मात्रले हुँदैन, संविधान उल्लंघन गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मुद्दा चलाउनुपर्छ।’
देशका पूर्व न्यायाधिश मात्र नभई संसारले समेत प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको तथा संघीय लोकतान्त्रिक गणतन्त्रको हत्या गर्नकालागि यस्तो कदम चालिएको अध्यक्ष यादवले दावी गरे।
मधेशलाइभको सहयोगमा