राजेश सिंह
अहिलेको पहाडी खसवादी सरकार र त्यसका मतियार कथित विद्वानहरुको बुद्धिमा बिर्को लागेको देख्दा अचम्म लाग्छ । तिनीहरुले आफ्नै देशमा शासन परिवर्तनकोलागि विभिन्न कालखण्डमा भएको क्रान्तिहरुको इतिहास पढेनन् कि पढेर बुझ पचाउँछन् बुझ्न गार्हो छ । तर उनिहरुले यो बुझ्नु पर्छ की, आफूलाई गणतान्त्रिक देश हुँ भनि दाबी गरिरहँदा मानिस जुनसुकै देश र समुदायको किन न हुन्, अथवा आन्दोलनमा सहभागी होउन या नहोउन, दिनदहाडै त्यसको हत्या गरेर आन्दोलनमा विदेशीको संलग्नता भनेर प्रमाणित गर्न खोज्नु अपराध मुक्त हुनु पक्कै होईन । जुनसुकै बाहानामा पनि मानिसको हत्या गर्नु अपराध हो र उ दण्डित हनुपर्छ ।

यदि इतिहास पल्टाउने हो भने, नेपालमा शासन परिवर्तनकोलागि भएको सम्पूर्ण क्रान्ति र आन्दोलनहरुमा भारतीय नागरिकहरुको प्रत्यक्ष तथा परोक्षरुपमा संलग्नता भएको पाइन्छ । २००७, ०४६, माओवादी जनयुद्ध, ०६२ र ०६३ तथा मधेश विद्रोह, यी सम्पूर्ण क्रान्ति र आन्दोलनहरुमा भारतीय नागरिकहरूले अहम भूमिका खेलेको इतिहासमा स्वर्ण अक्षरले अंकित छ । मेरो प्रश्न यहि छ की, आफुलाई प्रकाण्ड विद्वान बताइरहने यी खसवादी शासक र तिनका मतियारहरुले किन मधेश आन्दोनमा भारतीय संलग्नता प्रमाणित गरेर मधेशीहरुमाथि अमानवीय तरिकाले गोली बर्षाउनकोलागि यो नरभक्षी सरकारलाई उर्जा प्रदान गरिरहेको छ ? किन मधेशका न्यायसंगत मागहरुलाई भारतीय जामा पहिराएर मधेशीहरुको हत्या गर्नकोलागि यो हत्यारा सरकारलाई सहयोग गरिरहेको छ ? २००७ सालमा बिपी कोईरालाको अगुवाईमा भएको आन्दोलनमा त हजारौं भारतीय नागरिकहरू मुक्तिसेनामा भर्ति भएका थिए र केहिले ज्यान समेत गुमाएका थिए । २०४६ सालको आन्दोलनमा सायद भनिरहनु पर्दैन होला की गणेशमान सिंहको निवास चाकसिबारी, ठमेलमा भारतीय पूर्व प्रधानमन्त्री स्व. चन्द्रशेखरले कस्तो भुमिका खेलेका थिए । त्यति बेला भारतले प्रजातन्त्रको पक्षमा लागेर बोर्डरमा नाकाबन्दी नगरीदिएको भए नेपालीहरुले गणतन्त्र त के प्रजातन्त्रको पनि मुख देख्न पाउने थिएनहोला । मैले यहाँ के मात्र जोड्न खोजेको हो भने, त्यहि देश भारत र उसका जनता नेपालको खसवादि आन्दोलनमा सहयोग गर्दै ज्यान गुमाउँदा विदेशी नहुने र त्यहि जनता आफ्नो संस्कृति, रीति–रीवाज, र रगतको नाता भएको समुदायकोलागि सहयोग गर्दा विदेशी हुने ? त्यहि देशले राजालाई हटाएर खासवादी जनताको अधिकार दिलाउनलाई बोर्डरमा नाकाबन्दि गर्दा न्याय गरेको महशुस गर्ने र त्यहि देशले तिम्रो देशमा अन्यायमा परेको मधेशीलाई अधिकार देउ भन्दा वैदेशीक हस्तक्षेप भनि अत्याचार गरेको शंखघोष गर्ने ? कस्तो दोधारे नीति हो यो खस शासकको ?

अहिले मधेश आन्दोलनलाई भारतीय घुसपैठ भनि अर्राष्ट्रिय आन्दोलन भन्नेहरुले, बिपी, गणेशमान, मनमोन अधिकारी, प्रचण्डहरुले भारतको सहयोगमा गरेका आन्दोलनहरु पनि अर्राष्ट्रिय नै थिए भन्ने आँट गर्न सक्छन् ?

विशेषतः मेरा केहि मित्रहरु र खसवादि विद्वानहरुलाई भन्न चाहन्छु की, यदि थाहा छैन भने पढ्नुस नेपाली क्रान्तिका ईतिहासहरु, त्यसमा स्पष्ट लेखिएको पाउनुहुने छ, नेपाली जनताकोलागि भारतीय जनताले गरेको त्यागहरुको बारेमा । एक भारतीय लेखक परमानन्दले आफ्नो किताव “The Nepali Congress Since Its Inception: An Critical Assessment” मा नेपाली काँग्रेसले सशस्त्र क्रान्तिकोलागि बनाएको मुक्तिसेनाको बारेमा यसरी व्याख्या गरेका छन् :

“ The Mukti Sena comprised some members on Subhash Chandra BoseÚs Indian National Army -Pramanand, 1982:40_”. लेखकले बिस्तृत रुपमा मुक्ति सेनाको र विदेशी सहयोगको बारेमा यसरी बिवरण दिएका छन् : “both the Indian government and the people wholeheartedly supported the cause of the insurgents [Nepali Congress] and gave them shelter and indirect cooperation as far possible…about 2,000 Indian volunteers in Calcutta, 100 in Darjeeling, 300 each in Banaras and Patna joined the rank and file of the Mukti Sena= Many Indian nationals also joined the struggle in different capacities= About 150 Socialists from Bihar, mostly from Purnea District, fought on the Eastern Front with its headquarters at Biratnagar= About one dozen -12_ Socialists came from Bengal, most important among those being Bhola Chatterji==Another important figure from Bengal was Taspad Basu who died during the war … Among the Socialists from the Bihar there were Kuldeep Jha, who died during fighting on the Koshi front at Kushaha Ghat, [ andy many others]” -Parmanand, 1982: 43_”

एक अर्को नेपाली लेखक, नेपाली काँग्रेसका नेता तथा राजा त्रिभुवनले बि.स. २००७ सालमा गठन गरेको सल्लाहकार सभाका सदस्य श्री काशि प्रसाद श्रिवास्तवले हिन्दी भाषामा लेख्नु भएको आफ्ना किताव “नेपाल की कहानी” मा मुक्ति सेनाले कब्जा गरेको पश्चिम नेपालमा विद्रोही सरकारको घोषणागरी फर्किने क्रममा तत्कालिन भारतीय संसदको सदस्य श्री शिब्बन लाल सक्सेना राणाहरुको सेनाको गोलिले घाईते भएका थिए भने उनीसँग रहेका कृष्णदास भक्तको मृत्यु भएको थियो भनि उल्लेख गरेका छन् (Shrivastava, 1955 :153-54_ )।

यसरी, आज बीरगंजको सीमामा सहादत प्राप्त गर्ने स्व. आषिशकुमार राम त्यही भारतका नागरिक हुन् जुन भारतका नागरिक तासपद बसु, कुलदिप झा, र कृष्णदास थिए । तासपद, कुलदिप र कृष्णदासले नेपालमा प्रजातन्त्र ल्याउनकोलागि सहादत प्राप्त गर्दा उनीहरु घुसपैठी भएन तर आषिशकुमार राम मधेशीको आनदोलनको क्रममा मारिँदा उ घुसपैठी भए, कसरी ? फरक यही हो आषिश मधेशीको आन्दोलनमा मरे अरुहरु खसवादीको आनदोलनमा मरे ।

आषिशको सहादतलाई भारतीय संलग्नता प्रमाणित गर्ने मोनोवृतिले तासपद, कुलदिप र कृष्णदासको सहादतलाई कसरी भारतीय असंलग्नता प्रमाणित गर्ने ? मधेश आन्दोलनमा भारतीयसँग सहयोग माग्ने राजेन्द्र महतोलाई देशद्रोही देख्ने आँखाले बिपी कोईराला, गणेशमान, गिरीजा, प्रचण्डले भारतीयसँग सहयोग लिँदा कुन लेन्सले राष्ट्रभक्त देख्ने ? मधेशीले आफ्नो अधिकार प्राप्तगर्नको लागि भारतको सहयोग माग्दा बिखण्डनवादी भन्नेले, त्यहि मधेशीलाई मार्न गाडि चढ्नकोलागि चिन (विदेश) सँग नरभक्षी सरकारले तेल माग्दा कसरी राष्ट्रवादी भन्ने ?

समस्या मधेशमा छ । लेन–देन मधेशीसँग गर्नुपर्छ न कि छिमेकी देशसँग । मधेशीको भेष–भुषा, बोलि–चालि, रहन–सहन र बेटि–रोटिको समबन्ध भारतको युपी र बिहारको बासिन्दासँग मिल्छ भन्दैमा, मधेशीको समपूर्ण मागलाई भारतसँग जोडेर हेरेमा हामी कतै पुग्दैनौ । नेपाल र भारतको समबन्ध सदियौंदेखि यस्तै चलिरहेको छ । भारतको स्वतन्त्रता संग्राममा धेरै नेपालीहरुले सहयोग गरे, त्यस्तै नेपालमा जनताको अधिकारप्राप्तिकोलागि विभिन्न कालखण्डमा भएको क्रान्ति र आन्दोलनमा पनि आषिशकुमार जस्ता धेरै भारतीय नागरिकहरुले सहादत प्राप्त गरे । तर, मधेशको आन्दोलनमा एउटा आषिशको सहादतलाई भारतीय संलग्नता देखाएर मधेशको आन्दोलनबाट मुख मोड्न खोजियो भने यसको परिणाम अवश्य पनि नेपालको हितमा हुने छैन् । मधेशको आन्दोलन अब मधेशमात्र हैन, अलग देशको दिशातिर मोडिन थालेको भान हुँदैछ । । अब धेरै बिलम्ब नगर्नुमै सारा नेपालीको भलाई छ ।

(लेखक जेएनयु, दिल्लीमा रिसर्चर हुन् ।)

2 COMMENTS

  1. I heard that Krishna Prasad Bhattarai was using same Raxaul Agrawal family to launch their struggle against panchayat system. So everybody needs to put this in context. How can someone not be involved in your cousin or uncle or aunt’s struggle. This time madhesi’s demands are just and future history will prove that. Jay Nepal.

  2. madhesh ko jaayaj maag haru sab ko sambodhan ra sunischit garnai parcha. samajik sadbhav kaayam rakhnu parcha haami. janata le ,yo sarkar le saampradayikta bhadkauna khojirahnu khedpurn cha.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.