१७ कार्तिक, काठमाडौं । सोमबार बिहानै वीरगञ्जस्थित मितेरी पुलमा धर्नाकारीमाथि भएको प्रहरी हस्तक्षेप गृहमन्त्री शक्तिबहादुर बस्नेतको ठाडो निर्देशनमा भएको बुझिएको छ । यो घटनापछि मधेसी नेताहरुले वार्ता भंग गर्ने चेतावनी एमाओवादी अध्यक्ष प्रचण्डलाई दिएका छन् ।
‘वीरगञ्ज घटना प्रधानमन्त्री केपी ओलीसँग सल्लाह गरेर गृहमन्त्री शक्ति बस्नेतको ठाडो निर्देशनमा भएको हो,’ स्रोतले भन्यो, ‘धर्नाकारीमाथि बल प्रयोग गर्ने यो घटनाबारे गृहमन्त्री बस्नेतले आफ्नो पार्टीका अध्यक्ष एवं राजनीतिक संयन्त्रका संयोजक प्रचण्डलाई समेत जानकारी दिएका थिएनन् ।’
एमाओवादीले सरकारमा गएका मन्त्रीहरुलाई निर्देशित गर्न उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा टीम बनाएको छ । तर, गृहमन्त्रीले प्रहरीलाई निर्देशन दिनुअघि श्रेष्ठसँग पनि कुनै परामर्श नगरेको स्रोतले बतायो ।
आफ्नो दलका शीर्षनेताहरुसँग सल्लाह नै नगरी गृहमन्त्रीले काम गरेको देखाउन प्रधानमन्त्री ओलीसँग भित्री सल्लाह गरेर धर्नाकारीमाथि बल प्रयोग गर्दा समस्या उत्पन्न भएको एमाओवादीकै एक नेताले बताए । उनले भने, ‘यसमा गृहमन्त्रीको केटौलेपन देखियो, मधेसी मोर्चासँग बन्नै लागेको वातावरण यो घटनाले बिगारेको छ । ओलीको पछाडि लागेर गृहमन्त्री बस्नेतले पार्टी नेताहरुसँग सल्लाह गरेनन् ।
वार्ता भंग गर्ने प्रचण्डलाई चेतावनी
यसैवीच मधेसी मोर्चाका नेताहरुले गृहमन्त्री बस्नेतको रवैयाका कारण अब वार्ता वार्ता भंग हुने चेतावनी एमाओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोनमार्फत् दिएका छन् ।
‘तपाईहरुले हामीलाई पारि नै र्पुयाउन खोजेको हो ? यस्तो अवस्थामा वार्ता हुन सक्दैन,’ मोर्चाका एक नेताले प्रचण्डलाई भनेका छन् ।
आइतबार सरकार र मधेसी मोर्चावीचको वार्ता सकारात्मक बाटोमा अघि बढेको थियो । तर, सोमबार बिहानै वीरगञ्ज नाकामा प्रहरीले धर्नाकारीलाई बल प्रयोग गरेर हटाउनुका साथै पाँचजनालाई गिरफ्तार गरेको थियो ।
प्रहरीहस्तक्षेपको विरोधमा दिउँसो निस्किएको जुलुसमा प्रहरीको गोली लागी एक भारतीयको मृत्यु भएको थियो ।
अनलाईनखबरबाट



