
हुलाकी न्यूज, जनकपुरधामः जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश नम्बर २ को सरकारले मधेश बलिदानी दिवस मनाएको छ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा एक समारोहका बीच सरकारले बलिदानी दिवस मनाएको हो। २०६३ माघ ५ गते मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतोको हत्या भएको थियो।
महतो प्रथम मधेश आन्दोलनका प्रथम शहीद हुन्। उनको सम्झनामा प्रत्येक वर्ष मधेश बलिदानी दिवस मनाइन्छ।
प्रदेश २ सरकारको आयोजनामा जनकपुरधाम उद्योग बाणिज्य संघको सभाहलमा दिवसको आयोजना गरिएको थियो।
कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, मुख्यमन्त्री लालबाबु राउत र जसपाका नेता एवं प्रदेश सरकारका मन्त्री जितेन्द्र सोनललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा शहिद रमेश महतोकी आमाको समेत विशेष उपस्थिति रहेको थियो।
बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको हो।



