हुलाकी न्यूज,म्याग्दी  :  कोरोना कहरले बन्द भएका जिल्लास्थित प्राकृतिक तातोपानी कुण्ड १० महिनापछि खुलेका छन् । अर्थोपेडिक औषधिले आजित भएका देशभरका वायुगोला (ग्यास्ट्रिक), हाडजोर्नी दुखेको, मुटुको रक्तचाप र छालाका रोगी यहाँको तातोपानीमा प्राकृतिक उपचारका लागि आउने गरेका छन् ।

कोरोनाको डरले बन्द गरिएका यहाँका तातोपानीका पोखरी खुला गरिएसँगै स्वास्थ्यलाभ गर्न काठमाडौं, पोखरा, बुटवललगायत ठाउँबाटसमेत बिरामी आउन थालेका छन् । ‘बिरामी कहिले तातोपानीको पोखरी खुला भनेर पर्खिबसेका थिए ।

१० महिनादेखि रोकिएका बिरामी धमाधम आउन थालेका छन्,’ सिंगा तातोपानी पानी व्यवस्थापन समितिकी मेखी खत्रीले भनिन्, ‘पहिला पनि पोखरी र तातोपानी क्षेत्रमा आउने बिरामीलाई मास्क अनिवार्य गरेका थियौं, अहिले झन् कडाइसाथ लागू गरेका छौं ।’ यहाँ पाइएका तातोपानीमध्ये सबैभन्दाबढी अन्नपूर्ण–६ रातोपानीस्थित तातोपानीको तापक्रम ७३ डिग्री सेल्सियस, भुरुङ तातोपानी ७१ डिग्री, सिंगा तातोपानीको तापक्रम ५५ डिग्री रहेको स्थानीय बताउँछन् । जिल्लामा कालीगण्डकी, राहुघाट र म्याग्दीखोला किनारमा नौ स्थानमा तातोपानीका मुहान छन् । मुदी बगरा, गुर्जा खोला, सिंगा तातोपानी, दर्मिजा र महभीर, रातोपानी, भुरुङ र नारच्याङका तातोपानीका मूलमा परम्परागत शैलीका अस्थायी पोखरी छन् ।

‘स्थानीय पहिल्यैदेखि तातोपानी डुब्दै आउनुभएको थियो, बाहिरी जिल्लाका पर्यटकका लागि पनि नेचुरल हटस्प्रिङ स्टिमबाथ सेन्टर खुला गरेका हौं,’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले भने, ‘पोखरीमा डुब्दा पनि मास्क अनिवार्य प्रयोग गरेका छौं । तातोपानीले जाडोमा सबैलाई राम्रो गर्छ, कोरोना पनि चिसोमा बढी सक्रिय हुने हुँदा हटस्प्रिङ उपयोगी छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.