हुलाकी न्यूज,काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लामो राजनीतिक आन्दोलनबाट प्राप्त नयाँ संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेर आफुहरु माथि आक्रमक हुनुपर्ने बाध्यता सिर्जना गरिदिएको भन्दै आवेश र आक्रोश सहितको जुझारु आन्दोलन गर्न युवाहरुलाई निर्देशन दिएका हुन् । आन्दोलनमा युवाहरु मात्रै नभई अग्रमोर्चामा आफु पनि सहभागी हुने उनको भनाई छ ।

अध्यक्ष प्रचण्डले संविधानमाथि प्रहार हुँदा सिङ्गो देश स्तब्ध भएपनि प्रधानमन्त्री केपी शर्मा ओली हाँस्दै हिँडेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले एकताको बेलाका सिद्धान्तलाई अतिक्रमण गरेको तथा पार्टीको संगठनात्मक मूल्यमान्यता बाहिर गएको उनको भनाई छ । आफुहरुले भने कम्युनिष्ट आन्दोलनको एकताको प्रतिनिधित्व गर्न चाहेको अध्यक्ष प्रचण्डले बताए । आफुहरु माक्र्सवादप्रति निष्ठावान हुँदै इमान्दार भएर अघि बढ्ने तथा आफुहरुको कम्युनिष्ट आदर्श तथा सिद्धान्त प्रति प्रतिबद्धता रहेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीलाई जनताले प्रधानमन्त्री बनाएको नभई पार्टीले प्रधानमन्त्री बनाएको उनको भनाई छ । पार्टीको बहुमतको निर्णय मान्ने संसारभरको प्रचलन रहेपनि ओलीले पार्टीको बैठक छलेर हिँड्ने गरेको अध्यक्ष प्रचण्डले बताए । ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेको आरोप उनले लगाए । अध्यक्ष प्रचण्डले केपी ओली प्रवृत्ति विरुद्ध मेजर अपरेशन आवश्यक रहेको बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.