हुलाकी न्यूज,महोत्तरी : जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण’ अर्थात् तल गोविन्द, माथि नारायण । खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडोयाममा ।
बाँसको खाँबा र झिक्राझिक्रीको बार ( बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका केही हात लम्बाइ-चौडाइका झुप्रा छन् । यी झुप्रामा जीवन गुजारा चलाउने गरिबका लागि जाडो छल्ने दुईवटा तरिका देखिन्छन् । एउटा बाटोघाटोबाट सोहोरेर ल्याइएको पातपतिङ्गर, मिल्किएका झुत्रा लुगा र प्लाष्टिक बटुलेर बालिने ‘घूर’ ।

जहाँ बस्तीभरिकै बूढाखाडा, बालवनिता (केटाकेटी) र महिला पचपची निस्कने ‘घूर’ को धुँवाबीच हात फैलाएर तातो लिएको अनुभूति गर्छन् । अर्को तल (भुँइ) मा पराल पसारेर घुँडा खुम्च्याएर सुत्ने, माथि (शरीरमाथ) पराले चटाइ (एकप्रकारको गुन्द्री) तेस्र्याउने । अर्थात् पराल नै डस्ना, पराल नै सिरक । यसैलाई गरिबले जाडो छल्ने उपायमा ‘तर गोविन्द, उपर नारायण’को उक्ति सुनाउने गरेका हुन् ।

“हजुर, हाम्रो ठण्डी चिसो, जाडो छल्ने यै (यही सहारा हो”, झुरुमुट्ट बस्तीको झुप्रा अगाडि आङ्गनमा १०-१२ आफ्ना परिवारजन र छिमेकीसहित ‘घूर’ का चारैतिर हात फैलाएर बसेकी महोत्तरीकै भङ्गाहा नगरपालिका–३ सकरी मुसहरी बस्तीकी करिब ६० वर्षीया रामराजी सादा मुसहरले भने, “रात कटाउन पराल छ, उज्यालो भएपछि घूर ।” लगातार बढ्दै गएको चिसोले बनीबुतो (मजदूरी) गर्न जान नपाएपछि उदरपूर्ति ९खाने कुरा० को पनि समस्या बढेको रामराजीको थप ब्यथा छ ।
रामराजीजस्तै भङ्गाहा–८ धर्मपुरको अन्हारवन बस्तीकी सुथरी बाँतर पनि छिप्पिदो जाडोले यसपालि लाने हो कि भन्ने ठान्छिन् । “न खायके कोनो ठिकान, न ओढ बैसके कोनो बिस्तर” खाने कुरा यो भन्ने छ, न ओढ्ने, बस्ने लुगा करिब ५० वर्षीया सुथरीले थुरथुरी जाडोमा ओठ कमाउँदै भनिन्, “हम गरिबके देखवाला कोइ नई, बुझाइय जे अइबेर जाडमे नई जियब” (हामी गरिबलाई हेर्ने कोही छैनन्, लाग्छ, यसपालिको जाडोबाट बाँच्न सकिन्न) ।
चुुनावका बेला थरिथरिका आश्वासन दिने नेता अर्को चुनाव नआएसम्म बस्तीमा नदेखिने गरिब बस्तीका पाका व्यक्ति बताउँछन् । विगतमा आफ्नो गरिबी, अभाव र पछौटेपनबारे कसैप्रति गुनासो नगर्ने मुसहर, बाँतर अब भने आपूmलाई हेर्ने बुझ्ने कसैले नगरेको बताउन थालेका छन् ।
मुसहर, बाँतर, डोम, हलखोर, मेस्तर, खत्बे, चमार र दुसाध जाति समुदायका बस्तीमा आमरूपमा छ्याङ्छ्याङ्ती गरिबी झल्कन्छ । यीमध्ये पनि मुसहर र बाँतर बस्ती चाहिँ पराले झुप्राका गुजुमुज्ज (झुरुमुट्ट) बस्तीले सजिलै चिनिन्छ ।
मुसहर, बाँतरको बारेमा सुनेकै भरमा पनि अपरिचित ठाउँमा पुग्ने जोसुकैले पराले झुप्रा देख्नासाथै यी त मुसहर, बाँतरका घर हुन् भनेर सजिलै लख काट्न सक्ने महोत्तरीको भङ्गाहा नगरपालिका–३ का बासिन्दा समाजशास्त्री (समाजविज्ञ)शिवराज दाहालले बताउनु भयो ।
महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा मुसहर जातिको बसोबास छ । यीमध्ये भङ्गाहा, गौशाला, बर्दिवास र लोहारपट्टी नगरपालिकामा अन्य भन्दा बढी मुसहर जातिको बसोबास छ ।
सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाङ्कका दृष्टिले अति नै पिछडिएका मुसहरजस्तै बाँतर पनि हुन् । दुवै जातिको रीतिथिति र बसउठ समान नै देखिने समाजशास्त्री दाहालको भनाइ छ । रासस



