काठमाडौं: सरकारले अब सवारी चालक अनुमती पत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परिक्षाको ढाँचा परिवर्तन गर्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा परीक्षा परिवर्तन गर्ने विषयमा छलफल भएको थियो। उक्त छलफलपछि लाइसेन्स परीक्षाको ढाँचा परिवर्तन गर्ने सहमती भएको हो।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले ६० प्रतिशत नम्बर ल्याए पास हुने गरि ट्रायल (प्रयोगात्मक) परीक्षाको ढाँचा परिवर्तन गर्न लागिएको बताए। अर्थात् ट्रायलमा ४० प्रतिशत गल्ती गर्ने पनि अब पास हुनेछन् । अहिले विद्यमान नियमअनुसार पास हुनका लागि शतप्रतिशत अंक ल्याउनुपर्छ।

हमालका अनुसार विभिन्न पक्षलाई आधार मानेर अंक दिइनेछ। ट्राफिक लाइट, उकालो-ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर तिनीहरुका लागि अलगअलग अंक छुट्याइनेछ। जसबाट ६० अंक ल्याउने पास हुनेछ।

‘अहिले प्रशिक्षार्थी ट्रायलमा एउटा गल्ति गर्नेवित्तिकै फेल हुन्छ । यसले गर्दा धेरैले लाइसेन्स नपाउने अवस्था छ । यसो हुँदा आर्थिक लेनदेनको बाटो प्रयोग गरेर लाइसेन्स लिने गरेको पाइएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले लेनदेनका आधारमा जोकोहीले पनि लाइसेन्स लिइरहेका छन्। त्यसैले जसलाई पनि लाइसेन्स दिनुभन्दा ६० अंक ल्याउनेलाई दिनु धेरै राम्रो हुन्छ । यसबाट यातायातमा हुने लेनदेनमा पनि कमि आउनेछ ।’

त्यसैगरि, लिखित परीक्षासमेत सहज हुनेगरि साइटमै लाइसेन्स परिक्षाका सम्भावित प्रश्नावली (क्वेशन बैंक) राख्न लागिएको छ। साइटमा राखिने उक्त प्रश्नावलीमा करीब एक हजार प्रश्न राखिने बताइएको छ। त्यही भित्रबाट परिक्षार्थीलाई प्रश्न सोधिनेछ। अहिले विभिन्न स्रोतबाट पढेर परिक्षा दिनुपर्ने व्यवस्था छ। विस्तारै घरमै बसेर लिखित परीक्षा दिने व्यवस्था मिलाउने योजनामा विभाग छ।

यो फेरिएको ट्रायल परिक्षा छिट्टै लागु हुने बताइएको छ। विभाग, ट्रायल सेन्टरहरुले तयारी गरिसकेपछि नयाँ ढाँचा अनुसार ट्रायल परीक्षा लागु गर्ने तयारी रहेको हमालले बताए। बिजमाण्डुबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.