हुलाकी न्यूज,काठमाडौँ : नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजाति र बहुसांस्कृतिक विविधताले युक्त राष्ट्र हो, त्यसैले यहाँका विभिन्न चाडपर्व तथा संस्कृतिको महिमा विश्वमा नै अतुलनीय रहेको छ।

हाम्रा यस्तै पर्वहरूमध्ये महत्वपूर्ण पर्व माघे संक्रान्ति पनि हो । सूर्यले मकर राशिमा प्रवेश गर्ने दिन भएकाले हामी यस पर्वलाई मक्कर संक्रान्ति पनि भन्छौं । यस पर्वले हाम्रो जनजीवनमा धार्मिक, ऐतिहासिक र आध्यात्मिक महत्वसमेत बोकेको छ । माघे संक्रान्तिले खास गरी दान र पुण्यको महत्व र महिमालाई स्पष्ट पारेको देखिन्छ । यस दिन पवित्र नदीहरूमा स्नान गरी सत्पात्रमा दिइएको दान कुनै पनि मानवका लागि अत्यन्तै फलदायी हुने कुरा पद्मपुराणमा उल्लेख गरिएको छ ।

यस पर्वमा तिलको दानलाई अत्यन्तै महत्वपूर्ण र पापनाशक दान मानिएको छ । तेल र सखरको दानले निर्मलता प्राप्त हुने कुरा बताइएको छ । यस पावन अवसरमा स्नानपश्चात् ब्राह्मणहरूलाई भोजन गराउने र उनीहरूलाई जुत्ता, कम्बल र जलपात्र दान गरी आफ्ना पितृहरूलाई तृप्त पार्ने काममा पवित्र हृदयले समर्पित हुनेहरू विष्णुलोकको अधिकारी हुने पौराणिक ग्रन्थहरूमा बताइएको छ ।

माघे संक्रान्तिको दिन रिडी–बराह क्षेत्र, देवघाट, दामोदर कुण्ड, नेत्रावती, भक्तपुरको लेले आदिका साथै विभिन्न पवित्र नदी र घाटका किनार एवं दोभान र त्रिवेणीहरूमा स्नान गर्नेहरूको भीड लाग्ने गर्छ । यस पवित्र दिनमा आफ्ना गुरु पुरोहितबाट मकर संक्रान्तिको फलको श्रवण गर्ने र सत्य नारायणको व्रत बसी उनको विधिपूर्वक पूजाआजा गर्ने आदि विभिन्न किसिमका धार्मिक र सांस्कृतिक प्रचलनहरू पनि रहेका छन् ।

संक्रान्तिको दिन कन्दमूल चढाई त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ भने यस पर्वको महŒवपूर्ण कन्दमूल तरुल हो । शास्त्रले बताएअनुसार विधिपूर्वक स्नान, व्रत, ध्यान र दान गर्नेहरूको मनोकाङ्क्षा पूरा हुने र मोक्ष प्राप्त गर्न सकिने कुरा धर्मशास्त्रमा उल्लेख भएको पाइन्छ । माघ महिनाको प्रारम्भसँगै सूर्यले धनु राशि त्याग गरी मकर राशिमा प्रवेश गर्ने र यसै दिनदेखि सूर्य दक्षिणायनबाट उत्तरायणतर्फ प्रवेश गर्ने क्रम आरम्भ हुने गर्छ । यसै दिनदेखि नै पृथ्वीको गोलाद्र्धमा सूर्य उत्तरतर्फ ढल्किन पुगी मकर रेखाबाट उत्तरतर्फ लाग्ने गर्छ । सूर्य उत्तरायणतर्फ लाग्नासाथ जाडो कम हुने क्रम सुरु हुन्छ ।

जसका कारण रूख–बिरुवाहरूमा पालुवा पलाउने क्रम सुरु हुन्छ । मानव शरीरलाई जाडो महिनामा तापयुक्त बनाउने क्रममा माघे संक्रान्तिका दिन तयार गरिने खाद्य पदार्थहरू पनि आरोग्य लाभसँग सम्बन्धित छन् । यस दिन विशेष गरी पालुङ्गोको खिचडी, घ्यू, चाकु, तरुल, तिलको लड्डु आदि सेवन गरिन्छ । यी सम्पूर्ण खाद्य पदार्थहरूले मानवलाई निरोगी बनाउन सहयोग पु९याउँछन् । सांस्कृतिक रूपले पनि यो पर्व विशेष महŒवको रहेको छ । किनभने पुस महिनामा पकाएर माघ महिनामा खाने चलन निकै पुरानो चलन हो । पुस मसान्तको दिन नै तरुल पकाएर भोलिपल्ट माघे संक्रान्तिको दिनमा खाने गरिन्छ । त्यसैगरी संक्रान्तिकै दिनदेखि नै नयाँ गृह प्रवेश, तीर्थ यात्रा निर्वाह, व्रतवन्धजस्ता शुभ कार्यहरूका लागि सर्वोत्तम मानिन्छ ।

हिमाली तथा पहाडी क्षेत्रमा मात्र नभई तराईतिर पनि माघे संक्रान्ति पर्व मानिन्छ, जसलाई थारु समुदायमा माघी पर्व भनेर चिनिन्छ । उनीहरू यो पर्व हर्षोल्लासपूर्ण वातावरणमा धूमधामका साथ मनाउँछन् । सुदूर पश्चिम र मध्यतराईका केही जिल्लाहरूमा कमैयाका रूपमा बसेका मानवले आफ्नो वार्षिक हिसाबकिताब फरफारक गर्ने चलन रहेको छ । पुरानो घरमा कमैयाको रूपमा बस्न नचाहनेहरू नयाँ घर परिवर्तन गरेर जाने पनि गर्छन् । मूलतः तराइतिर यस दिनलाई आ–आफ्नो लेनदेनको कारोबार फस्र्योट गर्ने मुख्य समयका रूपमा पनि लिइन्छ । पहाडी जिल्लाहरूमा अझै पनि चौपायाहरू किनबेच पनि यही माघे संक्रान्तिको भाका राखेर गरिन्छन् ।

यस पर्वका अवसरमा प्रत्येक घरघरमा आफ्ना चेलीबेटी, ज्वाइँ, भान्जाभान्जीलगायतका आफन्तजन आमन्त्रण गरेर हर्षोल्लासका साथ एकआपसमा मनोरञ्जन गर्दै खुसीयाली साटिन्छ । संक्रान्तिकै दिन राजधानीसँग जोडिएको पहाडी जिल्ला नुवाकोटको तारुक–५ मा साँढे जुधाइ प्रतियोगिता नै गरिन्छ । अचेल यो चलन रसुवा जिल्लाको वेत्रावतीमा पनि चलेको छ । यस्ता कार्यक्रमहरू आन्तरिक पर्यटन बढाउने काममा थप महŒवपूर्ण समेत भएका छन् । यस्ता प्रतियोगिता अवलोकनका लागि जिल्लाका विभिन्न स्थानबाट दर्शकहरूको भीड लाग्ने गर्छ । माघे संक्रान्ति पर्वमा सार्वजनिक बिदा दिने कार्य भने वि।सं। २०५९ देखि थालनी भएको हो । बिदाकै कारणले पनि मकर संक्रान्ति पर्वको रौनक बढेको पाइन्छ ।

यसरी माघे संक्रान्ति पर्वले नेपालको विविध प्रकारको संस्कृति, परम्परा, रीतिरिवाज र विभिन्न परिवेशहरूको जीवन्त पहिचान दिनुका साथै यसभित्र नेपाल र नेपालीको धार्मिक आस्था, मानवीय जीवन, व्यवहार, भौगोलिक यथार्थ, आरोग्य, लाभ र सांस्कृतिक महिमा आदि विविध पक्षलाई समेट्न सफल भएको छ । यस पर्वभित्र कर्मदर्शन संस्कृति र हाम्रो जीवन पद्धतिको समन्वयका साथै सामाजिक मर्यादामा आधारित लौकिक जीवनको सुन्दर पक्षलाई उजागार गरिएको पाइन्छ । त्यसैले सबैले आ–आफ्नो गच्छेअनुसार यस पर्वलाई सौहार्दपूर्ण वातावरणमा मनाउँदै यसको महिमालाई जीवन्त राख्नु साझा दायित्वसमेत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.