हुलाकी न्यूज,काठमाडौं : नेपालमा पहिलो पटक कृषि बजारले थारुहरुको महान चाड माघीको अवसर पारेर ‘थारु फूड फेस्टिभल’को आयोजना गरिने भएको छ । यहि माघ १ गते नयाँ बानेश्वरको थापा गाउँमा रहेको थनेत कृषि बजारमा फूड फेस्टिभलको आयोजना गर्न लागेको बजारका अध्यक्ष लोक बहादुर थनेतले जानकारी दिए ।
थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने प्रचलन छ । आदिवासी थारु समुदायको सँस्कृति तथा परम्परालाई प्रबर्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागेको हो ।
मेलामा आउनेहरुका लागि घोंगी, हाँसको मासु, परेवाको मासु, लोकल कुखुराको मासु, झिंगे माछा, सितुवा, गंगटा, ढिक्री, रोटी, बगिया, तिलको लड्डु, भुजाको लड्डु, चिउराको लड्डु, चिचर, भाका, अनन्दी चामलको खानालगायत विभिन्न थारु खानाका परिकारहरुको व्यवस्था रहेको थनेतले बताए । साथै थारु भेषभुषा तथा संस्कृति झल्किने विविध कार्यक्रमहरु समेत रहेको छ ।
”कोरोनाको कारणले गर्दा यसपालि टुँडिखेलमा माघी कार्यक्रम नहुने कुरा छ, हामीले देशका विभिन्न ठाउँबाट आएर उपत्यकामा बसोबास गरिरहेका थारु समुदायलाई भेटघाट तथा शुभकामना आदन–प्रदान गराउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागेका हौं ।” उनले भने, ”माघीको अवसरमा विभिन्न मेला लाग्दै आएको छ, तर कृषि बजारले सँस्कृतिसँग सम्बन्धि ‘फूड फेस्टिभल’को आयोजना गरेको सम्भवत यो नै पहिलो हो जस्तो लाग्छ मलाई ।’ हामी व्यपार व्यवसायसँगै सामाजिक उत्तरदायित्वका कार्यहरुलाई पनि समेट्ने प्रयासमा छौं ।’
उनले फुड फेस्टिभलमा आउन सबैलाई आग्रह गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले अन्य सबै जातजाति अनुसारको पर्वहरुमा पनि यस प्रकारको कार्यक्रम आयोजना गर्ने योजना रहेको अध्यक्ष थनेतले बताए ।
यस प्रकारका कार्यक्रमले देशका विभिन्न ठाउँबाट आएकाहरुलाई एकत्रित गराउने र एकले अर्काेको संस्कृति तथा परम्परा बुझ्न पाउने भएकाले यसले भाइचाराको सम्बन्ध कायम गर्ने उनको विश्वास छ । कार्यक्रम बिहान १० बजेदेखि सुरु हुनेछ । सो दिन थनेत कृषि बजारबाट तरकारी तथा खाद्यन्न खरिद गर्नेलाई विशेष छुट दिइने बजारका प्रबन्ध निर्देशक हरि भण्डारीले बताए ।




