हुलाकी न्यूज,रौतहट : प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले ५ महिनाको अवधिमा ५ करोडभन्दा बढी राजश्व संकलन गरेको छ। प्रदेश २ को प्रायः सबै जिल्लामा ट्राफिक नियम विपरित चलेका सवारी साधन लगायत विभिन्न स्रोतबाट हुने राजश्व संकलनमा वृद्धि भएको हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांक अनुसार गत साउनदेखि मंसिर मसान्तसम्म प्रदेश २ मा ५ करोड ५६ लाख २२ हजार पाँचसय रुपैयाँ राजश्व संकलन भएको छ।
ट्राफिक नियम विपरित चलेका ८५ हजार नौ सय दुईवटा सवारी साधन सो अवधिमा कारवाहीको दायरामा आएका छन्।
प्रदेश २ ट्राफिक प्रहरीप्रमुख एसपी श्यामकुमार महतोका अनुसार बढ्दो सवारी दुर्घटना न्युन गर्ने उद्देश्यले प्रदेशको विभिन्न जिल्लामा चालक, सहचालक, यात्रु र सर्वसाधारणसँग समेत समन्वय हुने गरी सोही अवधिमा एकहजार पाँचसय ६२ वटा जनचेतनामुलक कार्यक्रम भएका छन् । उक्त कार्यक्रमहरुमा ७१ हजारभन्दा नागरिक सहभागी भएको बताइएको छ।
प्रदेश २ मा गत साउनदेखि मंसिर मसान्तसम्म कुल एक हजार आठसय सवारी दुर्घटना भएको छ। ती दुर्घटनामा परेर दुईसय ११ जना मानिसको मृत्यु भएको छ भने आठसय १५ जना मानिस गम्भीर घाईते भएका थिए। त्यसैगरी सोही दुर्घटनामा परेर एक हजार आठसय ९६ जना मानिस सामान्य घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका सई सुरेन्द्र कोइरालाले बताए।
अघिकांश दुर्घटना राजमार्ग बाहेक भित्री सडकमा भएको पाइएको । अधिकांश दुर्घटनामा मानवीय कारणले नै भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ।




