हुलाकी न्यूज,काठमाडौँ :भोटेकोशी गाउँपालिका–२ तातोपानी क्षेत्रबाट चीन जोड्ने उत्तरी तातोपानी नाका फेरि बन्द हुने भएको छ। भोटेकोसी नदीले क्षतिग्रस्त नेपाल चीन नाका मितेरी पुलको जगको संरचना मर्मतसंम्भार गर्न एकतर्फी आयातको रुपमा चल्दै आएको तातोपानी नाका आगामी (जनवरी २०) माघ ७ गतेदेखि २० दिनसम्म बन्द हुन लागेको हो।
बर्खे बाढी र तिब्बतको न्यालमक्षेत्रमा रहेका केही तालबाट पोखिएर आएको पानी मिसिएको भोटेकोशीले मितेरी पुलको जग र अन्य संरचनामा केही क्षति पुर्याएको थियो। चीनको खासास्थित ‘तिब्बती डिर्पाटमेन्ट अफ कमर्स फरेन ट्रेड’का अनुसार बाढीले मितेरी पुलको ध्वस्त जगलाई २० दिनभित्र बलियो बनाएपछि मात्रै नाकालाई खुला गरिनेछ। त्यही सन्देशअनुरुप जाङ्मु पोर्ट म्यानेजमेन्ट कमिटीले नेपाल र चीनका व्यापारिक संघसंस्था र कम्पनीलाई सूचित गराइसकेको उल्लेख गरे। पुल मर्मतपछि तिब्बती समुदायको ल्होसार पर्व आउने भएकाले २० दिनभन्दा बढी बन्द हुनेसक्ने चिनियाँ पक्षबाट अनुमान गरिएको छ ।
भूकम्प र भोटेकोशी बाढीले ध्वस्त बनाएको मितेरी पुललाई चिनियाँ कम्पनी ताइन सुन रोड एण्ड ब्रिज कम्पनीले वर्षदिन लगाएर ठड्याएको थियो। मितेरी पुलबाहेक बर्खाले क्षतविक्षत कोदारी राजमार्ग (२६ किलोमिटर) मा मापदण्डविपरित अत्यधिक तौलमा ४० फिटको चिनियाँ कन्टेनरबाट सामाग्री आयात गरिएको व्यवसायी र कन्टेनरले आरोप लगाउँदै आएका छन् ।
नाका पुन: बन्द गरिने बारे आधिकारिक चिनियाँ पक्षबाट प्रशासनिक रुपमा पत्र नआएपनि तातोपानी नाका बन्द हुने बारेमा अन्य अनौपचारिक खबर पाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । ‘यसबारेमा प्रशासनिक, सुरक्षाकर्मी, प्रतिनिधिबीच छलफल बाँकी छन्, तैपनि व्यापारिक रुपमा सूचना आएको केही खबर पाएका छौं,’उनले भने । तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले पुल मर्मतसंम्भारको लागि भनेर चीनले नाकालाई आगामी जनवरी २० देखि २० दिनसम्म नाकालाई बन्द गराइने मौखिक सूचना पाएको बताए । ‘खासा र न्यालममा अलमलिएका सामान नेपाल भित्राइसकेपछि पुल मर्मत थाल्ने चीन पक्षले योजना बनाएको छ, यसबारे आधिकारिक पत्र भने पठाइसकेको छैन्,’उनले भने ।कान्तिपुर