हुलाकी न्यूज,काठमाडौँ : फिल्म अभिनेत्री प्रियंका चोपडा आफ्ना श्रीमान् निक जोनससँग लण्डनमा कोरोना लकडाउनका कारण फसेकी छिन्। अब उनले जोश वुडको स्टाइलिस सैलुनमा आफ्नी आमा मधु चोपडासँग लकडाउनको नियम तोडेको बताइएको छ।
प्रहरीका प्रवक्ता मेल अनलाइनसँगको कुराकानीमा प्रहरीलाई बेलुका ५ः४० मा यसबारे जानकारी दिइएको बताए । हेयर ड्रेसरले लकडाउनको नियम उल्लंघन गरेको बताइएपछि प्रहरी सैलुनमा पुगेको र सैलुनका मालिकलाई कोभिड-१९ सँग सम्बन्धित सबै नियम पालना गर्न निर्देशन दिइएको जनाइएको छ । उनीमाथि कुनै जरिवाना नतोकिएको पनि जानकारीमा उल्लेख छ ।
सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युकेमा लकडाउनको घोषणा गरेका छन्। प्रियंका चोपडा बाहिर निस्कनु नै नियमको उल्लंघन बताइएको छ। सोमबार प्रधानमन्त्रीले बेलायतमा बस्ने सबैलाई नियमको कडासँग पालना गर्न निर्देशन दिएका थिए । प्रियंकाले भने बुधबार लकडाउनको नियम तोडेकी हुन् । उनी सैलुनमा हेयर अपोइन्टमेन्टका लागि गएकी थिइन् । बोरिस जोनसनले आफू पुनः एकपटक देशव्यापी रुपमा लकडाउन लागू गर्न बाध्य भएको जानकारी दिएका थिए । लकडाउनको नियम उल्लंघन गर्नेलाई १० हजार पाउन्डसम्मको जरिवाना लाग्न सक्ने पनि बताइएको थियो । एजेन्सी