हुलाकी न्यूज, वीरगंज, १६ कार्तिक । वीरगंजको घण्टाघर चौकमा आन्दोलनरत प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ । घण्टाघर चौकमा आन्दोलनकारीमाथि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेपछि फायरिङ गरेको युवा अभियन्ता आनन्द कुमार गुप्ताले बताएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन रबरको गोली चलाउनु परेको बताएको छ ।

यता घण्टाघरचौकस्थित प्रहरी बिटमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । आक्रोशित प्रदर्शनकारीले पर्साको इलाका प्रहरी कार्यालय लङगरीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

घण्टाघर चौकमा गोली चलेपछि घरघरबाट आन्दोलनकारी सडकमा निस्किन थालेका छन् । वीरगंज नाकामा धर्ना दिइरहेका प्रदर्शनकारीमाथि प्रहरीले एका बिहानै लाठी प्रहार गरेर धपाएपछि वीरगंजमा प्रदर्शन चर्किएको छ ।

वीरगंजको चौक चौकमा हजारौंको संख्यामा आन्दोलनकारी जम्मा भएका छन् । उनीहरुले सडक अवरुद्ध गर्नुको साथै चर्को नाराबाजी पनि गरेका छन् ।

यता, वीरगंज नाकामा भएको प्रहरी दमनको विरोधमा छिमेकी जिल्ला बारामा पनि प्रदर्शन भएको छ । बारा सदरमुकाम कलैया बिहानैदेखि तनावग्रस्त रहेको स्थानीय पत्रकार संजय तिवारीले जनाएका छन् । कलैया पूर्ण रुपले ठप्प भएको छ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.