
आशिष गूप्ता, नेपालगन्ज १६ भदौ । बाँकेमा क्रियाशिल संयुक्त मधेशी मोर्चा र अन्तर पार्टी मधेशी संजाल एवं थारु संघ संगठनआवद्ध दलहरुले गरेको अनिश्चितकालिन बन्दका कारण बाँकेको जनजिवन प्रभावित भएको छ ।
पश्चिम कञ्चनपुरदेखि मध्य नेपालको चितवनसम्मका १० जिल्ला जोडेर थरुहट एवं अवध प्रदेश घोषणा गर्न माग गर्दै मधेशी मोर्चाले अनिश्चितकालिन मधेश बन्दले विगत २० दिनदेखि नेपालगंजलगायतका मुख्य बजारहरु खुलेका छैनन् ।
बाँके र वरिपरिका जिल्लामा लामो दुरीका यातायातका साधन नचल्दा आम नागरिक समस्यामा परेका छन् । बन्दका कारण बजार र पसल पनि खुलेको छैन ।
प्रमुख ४ दलले तराई, पहाड र हिमाल जोडेर बनाएको सिमांकनसहितको प्रदेशको थारु सम्बद्ध संघसंगठन, संयुक्त मधेशी मोर्चा र अन्तर पार्टी मधेशी संजाल बाँकेका नेताले बिरोध गर्दै त्यसलाई सच्याउन मधेशी मोर्चाले अनिश्चितकालीन मधेश बन्दको घोषणा गरेको छ । मधेशी र थारु समुदायले गरेको अवध मधेश थरुहट आन्दोलन, जनआन्दोलन, सशस्त्र जनयुद्ध, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, महिला, अल्पसंख्यक समुदायको आन्दोलनको मुल मर्म, उपलब्धी एवम सम्झौतालाई कुल्चिँदै अवध मधेश थरुहट भूमिलाई टुक्रा टुक्रा पारिएको उनीहरुको दाबी छ ।
सदियौंदेखि बहिष्करणमा परेका आदिवासी थारु, जनजाति, मधेशी, मुस्लिमलाई अल्पमतमा पार्ने षडयन्त्र स्वरुप दलहरुले सहमती गरेको उत्तर–दक्षिण, हिमाल–पहाड–तराई जोडेर बनाइएको प्रदेशको संरचनाप्रति उनीहरुले रत्तिभर बिश्वास नभएको उनीहरु बताउँछन् ।
कञ्चनपुरदेखि सुर्खेत, दाङ हुँदै चितवनसम्मको तराई भाग अवध मधेश थरुहट प्रदेश हुनुपर्ने, संविधानमा थारु आदिवासी आयोग हुनुपर्ने, संविधानमा मधेशी, मुस्लिम, जनजाति आयोग हुनुपर्ने, निर्वाचन प्रणालीलगायत राज्यको हरेक अंगमा जातिय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व, समावेशी सहभागिता हुनुपर्ने माग सहित आन्दोलनको घोषणा गरिएको मधेशी मुस्लिम थारु संयुक्त बाँकेका संचार सहसंयोजक हसन खाँले बताए ।
सदभावना पार्टीका जिल्ला अध्यक्ष लक्ष्मी नरणय बर्माले चार दलबीच भएको प्रदेशको सिमाङ्कन चित्त बुझ्दो नभएको बताउँदै मध्यपश्चिमलाई अवध मधेश थरुहट प्रदेश बनाउनुपर्ने बताए ।
भदौ १ गते देखि आव्हान गरिएको अनिश्चितकालिन बन्दको दौरान नेपालगन्जमा रहेको नगरपालिका र मलपोत कार्यालय, विद्युत प्राधिकरण कार्यालय, जिल्ला वन कार्यालय, आंतरिक राजस्व कार्यालय, जिल्ला अदालत, जिल्ला शिक्षा कार्यालयलगायत दर्जनौं कार्यालयहरु समेत बन्द गरिएको मधेशी थारु मुस्लिम अन्दोलन समितिका संचार संयोजक पशुपति दयाल मिश्रले बताएका छन् ।



