हुलाकी न्यूज, गोलबजार(सिरहा): सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ डोहटीयामा १७ वर्षीय आनन्द महतोको शव फेला परेको छ।
गोलबजार नगरपालिका १२ बेतौना हरिपुरका किशोर सिंहका छोरा आनन्दको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
गोलबजार मै डेरा गरी सृजना सेकेड्री इङिलश बोर्डिङ स्कूलको कक्षा १० मा उनी पढ्दै आएका थिए।
मंगलबार परीक्षा दिएर साथीलाई पु¥याउन गएका उनी बेपता भएका थिए। बुधबार विहान नजिकैको उखु खेतमा उनको शव फेला परेको थियो।
विद्यालय पोशाकमै रहेका शव फेलापरेको स्थानमा उनले प्रयोग गरेको साइकल, व्लेड र किटनाशक विषादी फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले घटना संस्कास्पद रहेको भन्दै अनुसन्धान अगाडि बढाएको छ।
आरोपितहरुलाई पक्राउ गर्नु पर्ने माग गर्दै परिवारजनले शव उठाउन दिएका थिएनन्। प्रहरीले बल प्रयोग गरी साँझ शवलाई पोष्टमार्टमको लागि लगेको थियो।
लहानथित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा पोष्टमार्टम गरी बुधबार राति शव गाउँ पठाइएको छ।
आनन्दका परिवारजनले किटानी जाहेरी दिएका छन्।
परिवारजनका अनुसार आनन्दसँगै पढ्ने एक जना किशोरीसँग प्रेम सम्बन्ध रहेको थियो। आनन्द उक्त किशोरीको घरमा समेत जाने आउने गरेका थिए।
किशोरीको परिवारजनबाट पटक पटक आनन्द र उनको परिवारलाई धम्की आउने गरेको थियो। उनीहरुले नै आनन्दको हत्या गरेको हुन सक्ने आरोप परिवारजनको रहेको छ।