हुलाकी न्यूज,जनकपुरधामः प्रदेश २ स्थित प्रचण्ड-माधव समूहको नेकपा संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन्।
मंगलबार मतदान प्रक्रियाबाट प्रदेशसभामा नेकपाको संसदीय दलको नेतामा महतोलाई चयन गरिएको सभामुख सरोज यादले बताए।
यसअघिका नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डललाई अविश्वासको प्रस्ताव मार्फत हटाउँदै नयाँ संसदीय दलको नेता चयन गरिएको हो । नेकपाको कुल ३२ जना प्रदेशसभा सदस्यमध्ये दाहाल-नेपाल समूहका १९ जना सदस्यले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरी प्रदेशसभा सचिवालय समक्ष प्रस्तुत गरेपछि सत्यनारायण मण्डल हटेका हुन्।
अविश्वासको प्रस्ताव दर्ता प्रक्रियामा १९ जना सदस्यमध्ये दाहाल पक्षका ७ जना र नेपाल पक्षका १२ जना छन् । तत्कालिन माओवादी केन्द्रबाट ११ जना र एमालेका २१ जना सदस्य रहेकोमा अविश्वास प्रस्ताव दर्तापछि दाहाल-नेपाल समूहमा १९, ओली समूहमा १० र ३ जना सदस्य अस्पष्ट छन् ।
प्रतिनिधिसभा विघटनपछि ओली र दाहाल(नेपाल समूहबीच विवाद उत्पन्न भएपछि ओली समूहका सत्यनारायण मण्डललाई दलको नेताबाट हटाई दाहाल नेपाल समूहका महतोलाई चयन गरिएको हो ।