हुलाकी न्यूज, रुपन्देही :

डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रुपन्देहीको आयोजनामा गैडहवा गाऊँपालिकाको पालिकास्तरीय प्रथम गा.पा. अधिवेशन सम्पन्न भएको छ ।

पौष २० गते गैडहवामा आयोजित सो अधिवेशन द्वारा‌ पार्टीको गैडहवा गा.पा. अध्यक्षमा राधेश्याम केवट,उपाध्यक्षमा लालजी कोहार,सचिवमा सिकन्दर सिँह कुर्मी, सहसचिवमा शिवलाल यादव,कोषाध्यक्षमा लाल बहादुर केवट तथा सदस्यहरुमा कल्पना भर लगायत २९ सदस्यीय गा.पा. समिति गठन भएको जिल्ला अधिवेशन संयोजक तथा जिल्ला संयोजक रामकेश गुप्ताले जानकारी दिए।

झण्डै तीन हजारको संख्यामा स्थानिय जनसमुदायको उत्साहपूर्ण उपस्थिती रहेको उक्त अधिवेशनको अध्यक्षता गा.पा. इन्चार्ज सन्तराज कुर्मीले गरेका थिए, भने मुख्य वक्ताहरुमा कार्यक्रमका प्रमुख अतिथि एवं जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खान,बिशिष्ट अतिथी एवं पार्टीका केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादव सहित जिल्ला संयोजक रामकेश गुप्ता, सह संयोजक चन्द्रशेखर सोनार, जिल्ला सह संयोजक दिलिप कुमार यादव, जिल्ला सदस्य निधीलाल अशान्त लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए ।
सो कार्यक्रममा पार्टी जिल्ला कोषाध्यक्ष संजय कुमार मिश्रा, जिल्ला सहसचिव कृष्णा कोहार, युवा जनमत संघ रूपन्देही जिल्ला संयोजक सागर वर्मा,क्षेत्रीय संयोजक ओमप्रकाश यादव, प्रेम यादब लगायत जिल्ला सदस्य गण, गा.पा. इन्चार्ज गण लगायत जिल्लाभरि बाट उल्लेख्य संख्यामा नेता -कार्यकर्ताहरुको उपस्थिती थियो ।

सो सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी एवं केन्द्रिय सदस्य अब्दूल खानले – मधेशका जनतालाई सुनियोजित तरिकाबाट अनुकूल शिक्षानिती नबनाई मधेशीलाई शिक्षाबाट टाढा राखी केवल भोटबैंकको रुपमा मात्र शासक वर्गले मधेशीलाई उपयोग गरिरहेकोले अब जाग्ने बेला आइसकेको बताए ।
आजसम्म कुनै मधेशीले पहाडमा गएर चुनाव जित्न नसकेको तर पहाडी व्यक्तिहरु मधेशमा आई बर्षौसम्म मधेशीकै भोटबाट राजनिती गरे पनि राज्यमा मधेशीको पहुंच पुर्‍याउन पटक पटक आन्दोलन गर्नु पर्ने दुर्भाग्यपूर्ण रहेको उनले बताए ।  उनले प्रश्न गरे – जब मधेशमा बस्ने पहाडीले समेत कुनै मधेशी नेतालाई भोट दिदैंन भने मधेशी जनताले नै किन मधेशमा पहाडी नेतालाई फेरी फेरी भोट दिई रहने ?

त्यसैगरी, केन्द्रिय सदस्य भोपेन्द्र प्रसाद यादवले – विगत ७० बर्ष देखी मधेशले कहिले राजालाई त कहिले कांग्रेस, कम्यूनिष्ट, राप्रपा जस्ता पार्टीलाई समेत विश्वास गरी जिताए तर तिनैले नै मधेशीको हक अधिकार कुण्ठित गरेको उनले बताए । दूधको साक्षी बिरालोलाई राख्नु नै ठूलो भूल भएको र अब सो गलतीलाई सुधार्दै मधेश र मधेशीको एक मात्र पार्टी जनमत पार्टीलाई एकपटक मौका दिन जनसमुदायलाई आग्रह गरे ।

यसै गरी जिल्ला संयोजक रामकेश गुप्ताले – आजसम्म मधेशी जनतासामु उपयुक्त विकल्प नभएको कारण भ्रष्ट पार्टीका नेतालाई भोट दिन बाध्य भएकोमा अब जनतासामु नयां विकल्प को रुपमा जनमत पार्टी आइसकेकाले “सबको देखा बारबार, जनमत पार्टी अबकी बार” भन्ने नाराका साथ सबैलाई पार्टीको चुनाव चिन्ह ‘हर्न छाप’ मा भोट दिन आग्रह गरेका थिए।

यस अधिवेशन संगै दोस्रो चरणको पालिका स्तरिय अधिवेशन सम्पन्न भएको जिल्ला संयोजक गुप्ताले बताए ।
अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएका स्थानिय तथा जिल्लाका सम्पूर्ण नेता कार्यकर्तालाई धन्यवाद दिएका छन, साथै चयन भएका सम्पूर्ण कार्यसमितीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन ।

यस अधिवेशनका क्रममा विभिन्न पार्टी परित्याग गरी जिल्ला तथा गाऊँपालिका स्तरका दर्जनौं नेता-कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको जिल्ला सहसचिव कृष्णा कोहारले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.