
हुलाकी न्यूज, जनकपुरधामः प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साहले प्रदेश सरकारले रसायनिक मलमा ७५ प्रतिशत अनुदान दिइएपनि किसानले लाभ नलिएको बताएका छन्।
आइतबार ४० औँ विश्व खाद्य दिवसको उपलक्ष्यमा प्रदेश २ का १६ जना उत्कृष्ट कृषकहरुलाई सम्मान गर्दै मन्त्री साहले भने, ‘मलखादको समस्या रहे पनि प्रदेश सरकारले रासायनिक मल ७५ प्रतिशतको अनुदानमा उपलब्ध गराइ रहेको छ। तर सो मल पनि किसानहरुले उपयोग गरिरहेको छैनन्।’
मन्त्री साहले अनुदानमा दिइने मलको उपयोग गर्ने किसानहरुलाई आग्रह गरे।
आठवटै जिल्लाबाट छनौट भएका विभिन्न किसान समूहबाट १६ जना किसानहरुलाई २५ हजार नगदसहित सम्मान गरिएको छ।
मन्त्री साहले सम्मान मात्र नभइ अब आउने समयमा कृषिमा धेरै विकास गरेका देश चीन, भारतलगायतमा कृषकलाई भम्रण गराइने बताए। मन्त्री साहले भने, ‘यो प्रदेशको मुख्य स्रोत कृषि नै रहेकाले समृद्धि र विकास कृषिमा नै निर्भर रहेका छन्।’



