हुलाकी न्यूज,काठमाडौँ  : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले उचालेको छ ।आइतबार भएको फाइनलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको हो।

प्रदेश १ ले दिएको ०६ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो। एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् भने करुणा भण्डारीले अविजित रहदै २६ रन बनाइन्। यस्तै ओपनर ब्याटरले १४ रनको योगदान दिँदा अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा जितको नजिक पुगेर एपीएफ निराश हुन पुग्यो।

बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र अलिशा खडियाले २-२ विकेट लिए भने संगिता राईले १ विकेट लिइन्।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १०५ रन बनाएको थियो।

ओपनर ब्याटरद्वय अप्सरी बेगम र कप्तान रुविना क्षेत्रीले सानदार सुरुवात दिलाएकी थिइन् । दुबैले ५८ रनको ओपनिङ साझेदारी गरेका थिए। १२.४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेकी रुविनाले ३२ बलको सामना गर्दै १८ रनको योगदान गरिन्।

रुविना आउट भएपछि अप्सरी पनि सोही ओभरको अन्तिम बलमा आउट हुन् पुगिन्। आक्रमक शैलिमा ब्याटिङ गर्न रुचाउने अप्सरीले ४५ बलको सामना गर्दै ५ चौकासहित ३४ रनको योगदान गरिन्।

काजल श्रेष्ठले अविजित रहदै २९ रन बनाइन्। २६ बलको सामना गरेकी उनले चौका प्रहार गरिन्। यस्तै रोमा थापाले ३ रन, निशा शाहले ५ बनाउँदा संगिता राई २ रनमा अविजित रहिन्।

बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले ३ विकेट हात पारिन् । करुणा भण्डारीले १ विकेट लिएकी थिइन्।उपाधिसँगै प्रदेश १ ले नगद पाँच लाख प्राप्त गर्दा उप- विजेता बनेको एपीएफले तीन लाख प्राप्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.