हुलाकी न्यूज,काठमाडौँ : भारतको नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यु घोषणा गरिएको छ।
नयाँ वर्षको बेला दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले रात्रिकालीन कर्फ्यु घोषणा गरेको हो। डीडीएमएले २१ डिसेम्बर र १ जनवरीमा रात्रिकालीन कर्फ्यु घोषणा गरेको हो।
दुवै दिन राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइने डीडीएमएले जनाएको छ। यसक्रममा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ। यस्तै, सार्वजनिक स्थलमा नयाँ वर्ष मनाउन नपाइने जनाइएको छ।
भारतमा पनि कोरोनाभाइरसको नयाँ स्वरुप देखिएपछि सरकारले यो कदम चालेको हो।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ८२१ संक्रमित थपिएका छन्। योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड २ लाखभन्दा बढी भएको छ।
यसैगरी २४ घण्टामा थप २ सय ९९ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४८ हजार ७ सय ३८ पुगेको छ।एजेन्सी