हुलाकी न्यूज,काठमाडौँ : नेपाल-भारतबीचको उच्च स्तरीय भ्रमणमा अहिले ब्रेक छ। भारतको तर्फबाट आफ्नो गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयललाई नेपाल पठाएर शुरु भएको भ्रमणलाई अहिले विराम लागेको हो।
नेपालका लागि भारत र चीनको एकैपटक उच्च स्तरीय भ्रमण शुरु भएको थियो। चीनले त्यसको निरन्तरता दिइरहेको छ भने भारतले भने अहिले नेपालका लागि सम्पूणर् भ्रमण रोकेको छ।
पुसको पहिलो हप्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा गएपछि उताबाट भारतीय गृहमन्त्री अमित शाह वा रक्षामन्त्री राजनाथ सिंह आउने कार्यतालिका तय भएको थियो । तर पुस ५ गते नेपालमा भएको राजनीति दुर्घटनाका कारण सबै कार्यतालिका रद्द गरेको बताइएको छ।
नेपालस्थित भारतीय दूतावास स्रोतका अनुसार रक्षामन्त्री सिंह वा गृहमन्त्री शाहको भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने कार्यतालिका तय थियो। त्यसको तयारी दुवै देशमा चलिरहेको थियो तर राजनीतिक दुर्घटनाका कारण सबै कुरा स्थगित भएको छ ।
यसअघि सीमा विवाद र त्यसपछि कोभिड-१९ का कारण दुई देशको बीचमा भ्रमण तथा संवाद बन्द थियो । पछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन संवाद भएपछि दुई देशको बीचमा सम्बन्ध सुधार भएको थियो ।
दूतावासका एक पदाधिकारीले भने, ‘अब पालो नेपालको हो । भारतको तर्फबाट तीन चारवटा भ्रमण भयो, अबको पालो नेपालको हो ।’ परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको औपचारिक निम्तो आइसकेको छ तर यताबाट सो भ्रमणको मिति तय गर्न नसकिरहेको दूतावास स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालय भन्छ, ‘भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला नेपाल भ्रमण आउनु भएको बेला औपचारिक निम्तो दिनुभएको थियो । तर जानुअघि एजेण्डा तय गर्नुपर्छ दुवै देशले त्यसको तयारी गर्नुपर्छ, अहिले त्यो नै भएको छैन ।’ परराष्ट्रमन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘भारतबाट भ्रमणको निम्तो आएको छ तर तत्कालै जाने कुनै त्यस्तो तयारी छैन । एजेण्डाहरुको विषयमा दुवै देशमा छलफल चलिरहेको छ ।’