‘गोरखा नगरपालिकाको हनुमान चौताबाट तत्कालीन राजा पृथ्वीनारायण शाह जन्मनुभएको गोरखा दरबार हुँदै पदयात्रा शुरु हुन्छ’, उनले भने, ‘गोरखा दरबारबाट निस्किएर सेनाको टुकडी बोर्लाङघाटमा पुगेर धादिङस्थित सेनाको देवीदत्त गणलाई झण्डा र टर्च हस्तान्तरण गर्छौं ।’ तत्कालीन राजा पृथ्वीनारायण शाहकालीन पोसाकमा सेनाको टोली पदयात्रामा निस्कने उनको भनाइ छ ।
नेपाल एकीकरण तत्कालीन अभियानलाई दृष्टिगत गरी शुरु गर्न लागिएको पदयात्रा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको दिन काठमाडौँ पुग्ने कार्यक्रम तय भएको गणपति केसीले जानकारी दिए । भीमसेन थापा गाउँपालिका–८ स्थित बोर्लाङघाटमा स्थानीयवासीले सेनाको स्वागतका लागि झाँकी कार्यक्रम गर्ने तयारी भइरहेको छ ।
पदयात्रामा तत्कालीन राजा पृथ्वीनारायण शाहका पालामा स्थापना भएका नेपाली सेनाको श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज गणको झण्डा र टर्च लाइट लिएर हिँड्ने गणपति केसीले जानकारी दिए । गोरखाबाट पदयात्रामा निस्किएको टोलीले धादिङको सिमानासम्म पुगेपछि धादिङस्थित सेनाको गणलाई झण्डा र टर्च गर्नेछ भने धादिङबाट नुवाकोटको सिमानासम्म धादिङस्थित सेनाको गणले झण्डा र टर्च पुर्याउनेछ ।
त्यस्तै नुवाकोटमा रहेको सेनाको गणले झण्डा र टर्च काठमाडाँ स्थित सेनालाई बुझाउनेछ । पदयात्रा २७ गते पृथ्वी जयन्तीका अवसरमा काठमाडौं पुग्ने उनले बताए । गोरखा दरबारबाट ४० जनाको टोलीले पदयात्रा गर्ने गणपति केसीले जानकारी दिए।