.रोहण सिंह
हुलाकी न्यूज,काठमाडौँ:उखु किसानका भेषमा रहेका बिचौलियाले भुक्तानी नपाउँदै सरकारसँग सम्झौता गरेको सुन्दा एक किसानको मृत्यु भएको छ।
बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका सर्लाहीका नरायण राय यादवको हृदयघातका कारण मृत्यु भएको हो ।
यसपाली पूरै भुक्तानी नलिइ काठमाडौँबाट नफर्किने भन्दै आन्दोलनमा सक्रिय रहेका यादवले भुक्तानी नै नलिइकन सरकार र आन्दोलनकारी बीच सम्झौता भएको सुनेर उनलाई हृदयघात भएको जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीले बताए ।
सम्झौता हुने बित्तिकै भगतले आफूलाई फोन गरेर ‘भुक्तानी नलिइकन सम्झौता किन गरेको रु काठमाडौँबाट खाली हात फर्किन मनै छैन । घरमा यसपाली पैसा लिएर आउने भनेर आएको तर यहाँबाट पैसा नलिइ आन्दोलन स्थगित गरेको भन्दै’ चित्त दुखाएको नेता चौधरीले बताए ।
विगत ३ वर्षदेखि उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपियाँ लिन बाँकी थियो । त्यही पैसाका कारण उनी निकै तनावमा थिए । ‘राति नै फोन गर्दा उहाँलाई निकै चिन्तित भएको पाएको थिएँ । चिन्ता नगर्नुस् तपाईसँग म भोलि भेट्छु जसरी पनि भुक्तानी लिएर मात्र घरजाने हो भनेर सन्तवना दिएको थिएँ,’ नेता चौधरीले भने, ‘तर विहान अचानक फोन आयो कि भगतजी ट्वाइलेटमा लडेर बेहोस हुनुभयो रे । उहाँलाई अहिले अस्पतालमा भर्ना गरिएको छ, अनि हतार हतार गरि म गंगालाल अस्पतालमा पुगेको छु । डाक्टरले पनि तनावका कारण यो एट्याक भएको भन्नुभएको छ ।’
चार–पाँच वर्षदेखि करिब २५ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताइएको छ ।