हुलाकी न्यूज,काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक अन्योलको बन्दी हुनुभन्दा ताजा जनादेशका लागि निर्वाचनमा जानु लोकतन्त्रको अभ्यास भएको बताउनुभएको छ।
उहाँले पद र प्रतिष्ठाको खिचातानीले पाँच वर्ष सरकार सञ्चालन गर्ने जनादेश प्राप्त सरकार तीन वर्षमै अप्ठेरोमा परेको चर्चा गर्नुहुँदै भन्नुभयो, “यो नेपाली राजनीतिक सङ्कटको ‘सर्भिसिङ’ पनि हो । यसले मुलुकको राजनीतिमा नयाँ निकास दिन्छ ।”प्रेस काउन्सिल नेपालद्वारा सोमबार आयोजित नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास, शैली पुस्तिका र आचारसंहिता (मैथिली र नेपाल भाषा) सार्वजनिक कार्यक्रममा नेपाल सरकारका प्रवक्ता गुरुङले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले प्रेस स्वतन्त्रताको उपयोग र उपभोग गरिरहँदा विकृति, विसङ्गतिलाई प्रोत्साहित र नकारात्मक प्रभाव त पारिएको छैन ? भन्ने विषयमा सञ्चार माध्यमले गम्भीर भएर ध्यान दिनुपर्नेसमेत बताउनुभयो । उहाँले वर्तमान राजनीतिक सङ्कट र यस विषयमा सार्वजनिक दुईपक्षीय धारणामा पत्रकार महासङ्घ र सञ्चारकर्मीको निष्पक्ष भूमिका महìवपूर्णहुने बताउनुभयो।
उहाँले भन्नुभयो, “समाजलाई द्वन्द्वमा लैजाने, राजनीतिक नेतृत्वलाई उत्तेजित बनाउने काम नगरौ। यस्तो बेला सञ्चार माध्यमको सही दिशानिर्देशन आवश्यक हुन्छ।”
उहाँले पत्रकार आचारसंहिताले यस्ता विषयमा सञ्चार माध्यम र सञ्चारकर्मीलाई स्वयं नियमन गर्न सघाउ पुर्याउने चर्चा गर्नुहुँदै प्रेस स्वतन्त्रताको सही उपभोगका लागि पनि आचारसंहिता निकै महìवपूर्ण हुनेमा जोड दिनुभयो । मन्त्री गुरुङले पत्रकार आचारसंहिता पत्रकारका लागि मात्र नभएर सूचना र समाचारका उपभोक्ताले समेत जानकारीमा लिनुपर्ने विषय भएको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “त्यसो भएमा नागरिक समाजले आचारसंहिताविपरीत सूचना र समाचार कुन हो ? भनेर जान्न सक्नेछन् । ” कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्यले विभिन्न भाषामा आचारसंहिता प्रकाशन गरेर राम्रो कार्यको सुरुवात गरिएको चर्चा गर्नुहुँदै भाषाभाषी पत्रकारिताको विकासका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।
यस्तै महासङ्घका पूर्वसभापति एवं नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास पुस्तकका लेखक धर्मेन्द्र झाले नेपालमा मैथिली भाषा बोल्नेको जनसङ्ख्या दोस्रो ठूलो भएको चर्चा गर्नुहुँदै त्यसअनुसार पत्रकारिताको क्षेत्रमा मैथिली पत्रकारिता निकै कमजोर रहेको बताउनुभयो ।
कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले आफ्नै कार्यालय प्रयोजनमा समेत भाषामा एकरूपता ल्याउन शैली पुस्तिका प्रकाशन गरिएको चर्चा गर्नुहुँदै सरकारी कार्यालय एवं प्रकाशन, प्रसारण गृहका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
यसैबीच नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्षको पहिचानको मागसहित सोमबार शिक्षाविद् तथा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०५औँ जन्मजयन्ती मनाइएको छ ।




