रोहन सिंह ,हुलाकी न्यूज, जनकपुर: सप्तरीको राजगढ गाउँपालिका ६ का बरदाही बनैनियाँ गाउँलाई जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको ८ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। २०६९ सालमा १ करोड ७ लाख रुपैयाँमा टेण्डर पाएर काठमाडौंस्थित नीलगिरी कन्सट्रक्सनले पुल निर्माण सुरु गर्यो । तर, कम्पनीले छ वर्ष लगाएर पनि दुई वटा वेल पिलर बाहेक केही काम गर्न सकेको छैन ।
निर्माण कम्पनी काम अलपत्र छाडेर दुई वर्षदेखि सम्पर्कविहीन रहेको स्थानीय विनोद साफीले बताए । उनले भने ‘पुल निर्माण अलपत्र रहेको विषयमा सम्वन्धित निकायमा दबाब दिँदैआएका छौँ, अहिलेसम्म आश्वासन मात्र पाएका छौँ ।’
भारतीय सिमावर्ती क्षेत्रको मुख्य सडकमा पर्ने मुतनी नदीको पुल निर्माण हुन नसक्दा नदी छेउमै रहेको जनता प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई आवतजावतमा समस्या हुने गरेको अर्का स्थानीय जितेन्द्र यादवले बताए । उनका अनुसार असारदेखि असोजसम्म कुडनमा सहित आसपास गाउँका बालबालिका विद्यालय जानबाट समेत वञ्चित हुने गरेका छन् ।
वर्षायाम त जिल्लाको दक्षिणी भेगका वासिन्दाका लागि कष्टकर हुन्छन् नै, बालबालिकालाई विद्यालय पठाउँदा नदीमा डुब्ने हो कि भन्ने डरले करिब पाँच महिना पढाइबाट नै वञ्चित हुनुपर्ने अवस्था छ,’ जितेन्द्रले गुनासो पोखे ।
पुल कहिले बन्छ भन्ने अझैसम्म पनि कुनै टुंगो नलागेकाले निर्माण कार्य सुरु गराउनेतर्फ ध्यान पुर्याउन समन्धित सरोकारवालासँग स्थानीयले आग्रह गरेका हुन् । निर्माण कम्पनीका प्रमुख युवराज डाँगीले विभिन्न आन्दोलन, लकडाउनलगायतले निर्माण कार्य रोकिएको जानकारी दिए ।
हालसम्म भएको निर्माण कामको रिभ्यालुएसनका लागि निवेदन दिएको जानकारी दिँदै उनले चाँडै काम सुरु गर्ने बताए ।




