हुलाकी न्यूज,काठमाडौँ : एउटा कक्षामा बढीमा कति विद्यार्थी राखेर पढाउन सकिएला ? ४०, ५० वा बढीमा ६० जनासम्म। तर जाजरकोटको एक विद्यालयमा एउटै कक्षामा १ सय ६८ जना विद्यार्थीलाई पढाउने गरिएको छ। पत्याउनै गाह्रो पर्ने गरी त्रिभुवन माध्यमिक विद्यालय जाजरकोट खलंगामा कक्षा ९ को अर्थशास्त्र विषय एकैपटक १ सय ६८ जना विद्यार्थी पढ्न बाध्य छन्।
कक्षा कोठामा विद्यार्थी नअटेपछि खुला चौरमा बसालेर पढाउने गरिएको शिक्षक राजेश शर्माले बताए। कोरोना महामारीबाट बच्न सामाजिक दूरी कायम गरेर पठनपाठन गर्ने सरकारी निर्देशन छ। तर विद्यार्थीको चाप र दरबन्दी अभावका कारण विद्यालयमा यति ठूलो संख्यामा एक जना शिक्षकले एउटै पिरियडमा पढाउनुपर्ने बाध्यता रहेको शिक्षक शर्माको भनाइ छ। कक्षा ९ मा २ सय ८ जना विद्यार्थी छन्। कक्षा तीन सेक्सनमा विभाजन गरिएको छ।
त्यसमध्ये ऐच्छिक प्रथम विषयअन्तर्गत ४० जनाले ऐच्छिक गणित र अन्य १ सय ६८ जनाले ऐच्छिक अर्थशास्त्र विषय अध्ययन गर्छन्। तर ऐच्छिक विषयमा प्रत्येक सेक्सनमा पढाइ नभएर एकै ठाउँमा राखेर पढाउँदा समस्या भएको हो। विद्यार्थी धेरै हुँदा कक्षा नियन्त्रण गर्नसमेत हम्मेहम्मे भएको शिक्षक शर्माको अनुभव छ। शिक्षक शर्माले कक्षा सातमा पनि पढाउँछन्। त्यहाँ पनि एउटै कक्षामा उनले ९६ जना विद्यार्थी एउटै कोठामा राखेर पढाउने गरेका छन्।
विद्यार्थीको चाप अत्यधिक छ। तर सोहीअनुसार विषयगत शिक्षक दरबन्दी नहुँदा यसरी एउटै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता भएको निमित्त प्रधानाध्यापक हरिबहादुर बस्नेत बताउँछन्। शिक्षा नियमावलीअनुसार एउटा कक्षा कोठामा ४० जनासम्म विद्यार्थी राखेर पढाउनुपर्ने उल्लेख गरिएको छ। विद्यार्थी संख्या धेरै भए सेक्सन विभाजन गर्नुपर्ने प्रावधान राखिएको छ।
तर १ सय ६८ जना विद्यार्थी एकै ठाउँमा राखेर पढाउँदा पनि कुनै अभिभावकले चासो राखेका छैनन्। विद्यालयसँगै भेरी नगरपालिकाको शिक्षा शाखा जोडिएको भए पनि अनुगमन र नियमनमा कुनै चासो देखाएको छैन। कक्षाकोठा र शिक्षक अभावमा एउटै कोठामा ठूलो संख्यामा विद्यार्थी राखेर पढाउँदा कोरोना महामारीको जोखिम पनि उत्तिकै बढिरहेको छ।




