हुलाकी न्यूज, काठमाडौँ : लमहीस्थित राष्ट्रिय क्रिकेट मैदानमा पुस ११ देखि १९ सम्म प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघले जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा सात प्रदेश र एपीएफको विभागीय टोली सहभागी हुँदै छन्।
पुस ११ गते लुम्बिनी र प्रदेश २ बीच उद्घाटन खेल हुने तयारी भइरहेको क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैयाले बताए । लमही मैदानमा दोस्रोपल्ट राष्ट्रिय खेल हुँदै छ । यसअघि आठौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट लमही मैदानमै भएको थियो ।
हालसम्म जिल्लामा चारवटा राष्ट्रिय स्तरका खेल सम्पन्न भइसकेको मजगैयाले बताए । जिल्लामा लमही र घोराहीको गुलरियामा गरी दुईटा राष्ट्रिय क्रिकेट मैदान रहेकाले क्रिकेटको क्रेज बढ्दै गएको उनले बताए । ‘राष्ट्रिय स्तरका खेलहरू भइरहेका छन् । खेल मैदान पनि पर्याप्त छ,’ उनले भने, ‘यसले खेलाडीलाई उत्साही बनाएको छ । अन्य समयमा पनि नियमित खेल र अभ्यास भइरहेका छन् ।’
प्रधानमन्त्री कपका लागि तीन नयाँ पिच तयार भएको मजगैयाले बताए । मैदानको सरसफाइ, होटल व्यवस्थापनलगायतका काम सम्पन्न भइसकेको उनले बताए । ‘विभिन्न तयारी कमिटी बनाएर काम भइरहेको छ । राष्ट्रिय खेलका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘मैदान सरसफाइ र अन्य तयारी अन्तिम चरणमा पुगेको छ । दाङमा राष्ट्रिय खेल हुनु महत्त्वपूर्ण अवसर भएकाले हामी उत्साही भएर खटिरहेका छौं ।’




