हुलाकी न्यूज, जनकपुरधाम, १५ कार्तिक । जारी मधेश आन्दोलन र सरकारसँगको वार्ताको समीक्षा गर्न बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक सकिएको छ । जनकपुरमा दुई दिनसम्म चलेको बैठक ७ बुँदे निष्कर्ष निकाल्दै आईतबार सकिएको हो ।
मोर्चाको चारवटै घटकका अध्यक्ष उपस्थित रहेको बैठकले मधेशी, थारु, आदिवासी–जनजाति, दलित, मुस्लिम, पिछडावर्गलगायतकाको माग संवैधानिक रुपले संबोधन नभएसम्म आन्दोलन यथावत राख्ने निर्णय लिएको छ ।
बैठकले सरकारले मधेशी मोर्चासँग निरर्थक र उपलब्धिहीन वार्ता गरिरहेको भन्दै वार्ताका लागि सरकार गम्भीर हुनुपर्ने ठहर गरेको छ । बैठकपछि जारी गरिएको मोर्चाका चारवटै अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा मोर्चाले वार्तालाई निरन्तरता दिने वा विराम लगाउने बारेमा केही उल्लेख गरिएको छैन । तर बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मोर्चाले अर्को एउटा वार्तासम्मको समय सरकारलाई दिने निर्णय गरेको बताएको थियो ।
मोर्चाले आमहड्ताल, राजमार्ग अवरोध, नाका अवरोध, उद्योग कलकारखानालगायत सरकारी कार्यालय बन्द र वित्तिय कार्यालय बन्द राख्ने लगायतका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । त्यस्तै मोर्चाले जारी गरेको विज्ञप्तिमा असहयोग आन्दोलन जारी राख्ने र जनपरिचालनका कार्यक्रमहरुलाई झनै सशक्त र सहभागितामुलक बनाउने उल्लेख छ ।
त्यस्तै मोर्चाले आन्दोलनमा सहादत प्राप्त गरेकाहरुलाई श्रद्धाञ्जली दिनु र घाईतेहरुको स्वास्थ्यलाभको कामना गर्नुका साथै मधेश आन्दोलनमा देखिएको जनसहभागिताका लागि आम जनसमुदायलाई धन्यवाद ज्ञापन गरेको छ ।




