हुलाकी न्यूज, खोटाङ : आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ।
पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको छ।
करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन्। विवाह गरेको तीन दिनपछि सोमबार दाजु सञ्जीवले बहिनी सकुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर हत्या गरेको खुल्न आएको हो।
हत्या हुनुभन्दा अघिल्लो राति दाजु सञ्जीवको फोनबाट पटकपटक धम्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुन्तलालाई लगेर हत्या गरेको उनका श्रीमान् दिनेशले बताए। ‘हाम्रो घरायसी व्यवहार छ भन्दै दाजु सञ्जीवले सकुन्तलालाई साथैमा लगेर जानुभयो’, उनले भने, ‘घरबाट हिँडेको केही समयपछि नै सकुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुखोला नजिकैको जङ्गलमा हत्या भएको अवस्थामा फेला पर्यो।’
घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । ‘घटनाका बारेमा अनुसन्धान भइरहेको छ’, उनले भने, ‘हत्यारा नियन्त्रणमा रहेकाले केही समयपछि सत्यतथ्य सार्वजनिक गरिनेछ ।’




