हुलाकी न्यूज,काठमाडौं : उखु किसानको उखुको मूल्य तुरुन्त भुक्तानी दिन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै किसानले पाउनुपर्ने रकम तत्कालै भुक्तानी दिई उखु खरिदकर्ता उद्यमीबाट सरकारी बाँकी सरह असुल उपर गर्न स्थानीय प्रशासन र नेपाल सरकारलाई आग्रह गरेका हुन।
उखु खेतीमा निर्भर रहेका किसानले उखु बिक्रीबाट पाउनु पर्ने रकम लामो समयसम्म प्राप्त गर्न नसक्दा संविधान प्रदत्त सम्पत्ति आर्जन गर्ने, भोग चलन गर्ने, बेचविखन गर्ने र व्यावसायिक लाभ प्राप्त गर्ने मौलिक हक कुण्ठित भएको आयोगको ठहर रहेकाे छ।
सरकारको निर्देशन पालना नगर्ने र उखु किसानको उखु लिई बक्यौता रकम भुक्तानी नगर्ने व्यवसायीलाई तत्काल कानूनको दायरामा ल्याई कारवाही गर्न अनुरोध गर्दै विज्ञप्तिमा भनिएको छ, “किसानका हक अधिकारका सम्बन्धमा व्यवस्था गरिएका कानूनको प्रभावकारी कार्यान्वयन गर्न, उखु किसानका समस्याको समाधानमा संवेदनशील हुन, किसानको श्रमको सम्मान गर्न, विगतमा भएका सम्झौताको कार्यान्वयन गरी किसानको मौलिक हक र मानव अधिकार संरक्षण गर्न सरकार र चिनी उत्पादक कम्पनीको ध्यानाकर्षण गराएको छ ।”




