हुलाकी न्यूज, काठमाडौं : डा.सीके राउत नेतृत्वको जनमत पार्टीले अधिवेशनसँगै चुनावी तयारीलाई पनि तीब्रता दिएको छ।
पछिल्लो केही महिनामा झापादेखि दाङसम्म करिब ७ सय ५० वटाभन्दा बढी वडाहरुमा जनमत पार्टीले संगठन विस्तार गर्दै अधिवेशन सम्पन्न गरेको जनाएको छ।
पार्टीका स्थायी समिति सदस्य ई.दीपक कुमार साहका अनुसार अहिले पार्टीले तोकिएकै मितिमा वडा अधिवेशनहरु सम्पन्न गर्नमा लागि परेको छ। त्यससँगै चुनावमा जाने वातावरण पनि बनिरहेको उनले बताए।
पार्टीको अधिवशेनहरु गराउन सक्रिय नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिदै नेता साहले आगामी दिनमा हुन सक्ने निर्वाचनका लागि पनि तयार रहन आग्रह गरेका छन्। जनमत पार्टीका इमानदार र सक्षम नेताहरु मधेशमा मधेश सरकार बनाई नमुना कार्य गर्न तत्पर रहेको उनको भनाई छ।
पार्टीको गुटगत स्वार्थ, नेतृत्वको असक्षमताका कारण प्रतिनिधिसभा विघटन भएको निष्कर्ष निकाल्दै नेता साहले भने,‘ताजा जनमतका लागि यो उपयुक्त समय पनि हुन सक्छ। त्यसकारण भ्रष्टाचार र विभेदको अन्त्य गरी सामुदायिक स्वराज स्थापना गर्ने उपयुक्त समय हो।’
राजनीतिबाट टाँढिएका युवाहरुलाई पनि राजनीतिमा सक्रिय हुन नेता साहले आग्रह गरेका छन्।
‘थोरै पनि ज्ञान नभएका, नामुद भ्रष्टहरु राजनीतिमा आएर ज्ञानी जनताको नेतृत्व गर्दा समाजको प्रगती हुन सक्दैन।’ उनले भने,‘समाज र जनताको प्रगतीका लागि ज्ञान भएका युवा पंती राजनीतिमा आउनु पर्छ। त्यस्ता युवाहरुका लागि जनमत पार्टी सही हुनेछ।’
विदेशमा रहेर देशको उत्थान गर्न चाहनेहरुका लागि र जनमत पार्टीलाई सहयोग गर्दै आउनेहरुका लागि आगमी चुनाव महत्वपूर्ण हुने दाबी गर्दै उनले भने,‘आउनुस् नेतृत्व लिनुस् र मधेश मै रोजगारको र्शिजना गर्नुस्।’