हुलाकी न्यूज,काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विभिन्न जिल्लामा प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापामा नेकपाका जनवर्गीय संगठनहरूले विरोध प्रदर्शन गरेका छन। अपराह्न ४ बजे बिर्तामोडमा विद्यार्थी संगठन अनेरास्ववियु, राष्ट्रिय युवा संघ र मजदुर संगठनले संयुक्त रूपमा प्रदर्शन गरेका हुन ।
कांग्रेस जिल्ला कार्यसमिति मोरङलले पनि विराटनगरमा विरोध प्रदर्शन गरेको हो । तीनपैनी चोकबाट सुरु भएको जुलुस नगर परिक्रमापछि महेन्द्रचोकमा कोणसभामा परिणत भएको थियो ।
प्रतिनिधिसभा विघटनको विरोधमा प्रदेश २ का ८ वटै जिल्लामा प्रदर्शन गरिएको छ । प्रधानमन्त्रीकै दल नेकपाका नेता-कार्यकर्ताले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै विरोधमा उत्रिएका थिए । प्रादेशिक राजधानी जनकपुरको जनक चोकमा नेकपा कार्यकर्ताले प्रदर्शन गरेका छन । जनकपुरमा जनता समाजवादी पार्टीले पनि विरोध प्रदर्शन गरेको छ । बाराको कलैया र निजगढमा भने सबै राजनीति दल आबद्ध युवाहरू टायर बालेर प्रदर्शनमा उत्रिए । नेकपा, कांग्रेस र जसपा समर्थित युवाहरूले ओलीको कदमको विरोध गर्दै सडकमा उत्रिए थिए ।



