हुलाकी न्यूज ,काठमाडौँ : गत वर्षको तुलनामा यसपालि धान उत्पादन वृद्धि भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस पटक एक लाख मेट्रिक टन धान बढी उत्पादन भएको छ।

गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। यो वर्ष झन्डै ५६ लाख मेट्रिक टन उत्पादन भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन वृद्धि भएको तर त्यसको तथ्याङ्क बाहिर नआएको बताउनुभयो।मौसम अनुकूलता, समयमा सिँचाइ, मल आपूर्ति, धान खेतको क्षेत्रफल वृद्धि लगायतका कारण उत्पादन वृद्धि भएको उहाँले बताउनुभयो।

यसपालि धान उत्पादन वृद्धि हुनुको मुख्य कारण खेतीयोग्य जमिनको क्षेत्रफल वृद्धि नै हो। मन्त्रालयको तथ्याङ्कअनुसार यसपालि १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ भएको थियो ।

कोरोना महामारीका कारण सरकारले गरेको बन्दाबन्दीले धान रोपाइँको क्षेत्रफल वृद्धि भएको थियो। सहरबाट गाउँ पसेकाले बाझो जमिनमा पनि धान खेती गरेका थिए। विगतभन्दा यसपालि धान रोपाइँ समयमा सम्पन्न भएको, धान रोपाइँको क्षेत्रफल वृद्धि भए पनि अन्तिममा आएर तराई मधेसमा बाढी र त्यसपछि कीराले क्षति पुयाएका कारण मन्त्रालयले लिएको लक्ष्यअनुसार धान उत्पादन हुन नसकेको हो।

नेपाललाई वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ। आर्थिक वर्ष २०७७÷७८ मा कम्तीमा ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य सरकारले लिएको थियो । धान उत्पादन प्रतिहेक्टर ३.१ मेट्रिक टनबाट वृद्धि गरी ४ मेट्रिक टन पुयाउने लक्ष्य सरकारको छ। त्यो लक्ष्य पूरा गर्न नसके पनि विगतभन्दा उत्पादन वृद्धि भएका कारण मन्त्रालयले यसलाई सकारात्मक रूपमा लिएको छ। ६० लाख मेट्रिक टन धान उत्पादन भयो भने देश धानमा आत्मनिर्भर हुने मन्त्रालयको दाबी छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.