हुलाकी न्यूज,काठमाण्डाै : उखुको भुक्तानी पाउनुपर्ने मागगर्दै आन्दोलनरत उखु किसानले उखु हातमालिई बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
गएकाे शनिबार सर्लाहीबाट काठमाण्डौ आएका किसानहरूले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन्। सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइ दिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानहरूले भनेका छन् ।
मन्त्रालयले गएकाे वर्ष पुस १८ गते त्यही वर्षकाे माघ ७ गतेभित्र भुक्तानी दिने गरी किसान र उद्योगीबीच सम्झौता गराएको थियो। तर पनि उद्योगीहरूले एक वर्षसम्म पैसा नदिएपछि काठमाण्डौ आएर फेरि आन्दोलन गर्न बाध्य भएको किसानहरूले बताएका हुन्।
उता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानहरूलाई वार्ताका लागि मन्त्रालय बोलाएको छ। तर किसानहरू भने सरकार र उद्योगीहरूबीच मिलेमतो भएको भन्दै वार्ताका लागि मन्त्रालय गएका छैनन्। उखु किसानहरूले उद्योगीहरूबाट झण्डै ९० करोड रुपैयाँ उठाउन बाँकी रहेको बताएका छन्।