
हुलाकी न्यूज, महोत्तरी(गौरुका): संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश शासन चलाउन खोजेको आरोप प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले लगाएका छन्।
जनता समाजवादी पार्टी (जसपा)का नेतासमेत रहेका मन्त्री सोनलले ओलीको निरंकुश शासनलाई मधेशी जनताले मात्र रोक्न सक्ने दाबी गरेका छन्।
मंगलबार महोत्तरीको लोहरपट्टी ४ गौरुकामा पुलको शिलान्यास गर्दै मन्त्री सोनलले भने,‘सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले सरकारको नियतमाथि शंका उत्पन्न गरेको छ। ओली सरकार एकात्मक शासन चलाउनतिर अगाडि बढेको छ। ओलीको निरंकुश शासनलाई मधेशी जनताले मात्र रोक्न सक्छ।’
लोकतान्त्रिक मुल्यमान्यता विपरीत रहेको प्रधानमन्त्री ओलीको कदमलाई गम्भीरतापूर्वक लिनु पर्ने उनले जिकिर गरे।
संवैधानिक परिषद् जस्तो महत्वपूर्ण स्थानमा आफुखुशी गरेर जनताको मतको अपमान गर्ने कार्य ओलीले गरेको मन्त्री सोनलले बताए।
पिपरा सडक खण्डमा पर्ने उक्त पुलको शिलान्यास कार्यक्रममा जसपाका नेता शरत्सिंह भण्डारी प्रमुख अतिथि थिए। उक्त पुलको २०७९ बैशाख २ गतेसम्म निर्माण सम्पन्न हुने जनाइएको छ। ।



