हुलाकी न्यूज,काठमाडौँ : सुर्खेत उपत्यकामा मुलुककै दोस्रो ठूलो खानेपानी आयोजना निर्माण गरिने भएको छ। अबको तीन वर्षभित्र भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको र यो काठमाडौँमा सञ्चालित मेलम्ची खानेपानी आयोजनापछिको ठूलो आयोजना भएको खानेपानी तथा ढल व्यवस्था विभागका महानिर्देशक सूर्यराज कँडेलले बताउनुभयो।
यो आयोजनाले कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत उपत्यकाको तत्कालको समस्या समाधान गर्दै ३० वर्षसम्मको खानेपानीको आवश्यकता पूरा गर्नेगरी आयोजना अगाडि बढाइएको विभागले स्पष्ट पारेको छ। आयोजनाको लागत करिब सात अर्ब रुपियाँ हुनेछ।कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश राजधानीको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताउनुभयो। उहाँले खानेपानी समस्या समाधान गर्न सङ्घीय र स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने, बजेट व्यवस्थापनमा समेत तयार रहेको जानकारी दिनुभयो।
चार वर्षदेखिको प्रयास
उपत्यकामा भेरीको पानी ल्याउन सङ्घीय र प्रदेश सरकारले पटक पटक बजेट विनियोजन गरे पनि योजना अगाडि नबढ्दा बजेट फ्रिज हुँदै आएको थियो।
भेरी नदीको पानी उपत्यकामा ल्याउन चार वर्ष अघिदेखि चर्चा चल्दै आए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन। अब विभागले यहाँको खानेपानी समस्या समधान गर्न दीर्घकालीन रूपमा योजना अगाडि बढाउने गरी सक्रियता देखाएको छ।
खानेपानी आयोजना दीर्घकालीन रूपमा अगाडि बढाउन खानेपानी तथा ढल व्यवस्था विभागको प्राविधिक सहितको टोली अहिले सुर्खेतमा छ। पहिले भएको अध्ययनमा भेरी पुुल र झुप्रा खोलाको दोभान बीचबाट पानी पम्पिङ गरेर ल्याउने उल्लेख गरिएको थियो। तर उक्त ठाउँ उपयुक्त नभएपछि ५७४ मिटर माथिबाट पानी ल्याउने गरी अध्ययन अगाडि बढाइएको विभागले जनाएको छ। अबको एक हप्ताभित्र भेरीमा इन्टेक गराउने ठाउँमा गहिराइ नाप्ने र संरचना डिजाइनको काम दुई महिनाभित्र सक्ने गरी प्राविधिक टोली अगाडि बढेको छ।