हुलाकी न्यूज,काठमाडौँ : गत वर्षको तुलनामा संखुवासभामा यस वर्ष सुन्तला उत्पादनमा कमि आएपछि बजारमा सुन्तलाको मूल्य वृद्धि भएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दप्रसाद आचार्यका अनुसार गत वर्ष ५ हजार ३ सय १० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष ३ हजार ८ सय मेट्रिक टन मात्र उत्पादन भएको छ।
सुन्तला खेतीका लागि प्रसिद्ध मानिएको को दिंङ्लामा उत्पादनमा गिरावट आएपछि सुन्तलाको मूल्य बढेको कृषकहरुको भनाइ छ। अघिल्लो वर्ष प्रतिकेजी ७० रुपैयाँमा बिक्री हुँदै आएको सुन्तला यस वर्ष सरदर एक सय रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ मादि राम्वेनीका कृषक सरिता दाहालको भनाइ छ।
उत्पादनमा कमि आएपनि मूल्य वृद्धि भएकाले कृषकको आम्दानीमा भने गिरावट नआएको खाँदबारी नगरपालिका ४ का प्रमोद राईले बताए। सुन्तलाका लागि प्रसिद्धी कमाएको पाङ्माका कृषक राईले सुन्तला खेतीबाट वार्षिक २ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने गरेको बताए। संखुवासभाका शिलिचोङ गाउँपालिकामा पर्ने माङ्गतेवाका छिङ्खा, जौंले, बाला, याफुलगायतका क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती भएपनि सडक र यातायात सुविधा नभएकाले कृषकहरुले राम्रो आम्दानी गर्न नसकिरहेको स्थानीय कृषक रत्न राईले बताए।
शिलिचोङ्ग, माल्टा, पाङ्ठा, दिङ्लालगायतका क्षेत्रमा उत्पादन हुने नगदेवाली बजारसम्म ल्याउन ढुवानी खर्चनै बढी लाग्ने भएकाले महंगो मूल्यमा बिक्री गर्नुपरेको कृषकहरु बताउँछन्।




