हुलाकी न्यूज,सिन्धुली : सिन्धुलीमा राजमार्ग अतक्रमण गरी निर्माण गरिएका संरचना हटाइने भएको छ। जिल्ला स्तरीय समन्वय समिति र यातायात व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो।

 

 

बनेपा-सिन्धुली-बर्दीबास (बीपी) राजमार्ग, मदन भण्डारी लोकमार्ग र मध्यपहाडी लोकमार्ग मिचेर बनाइएका सबै संरचनाहरु हटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले जानकारी दिए।

‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्यविधि २०७५ बमोजिम जिल्लामा जोडिएका राजमार्गका सडक अतिक्रमण गरेर बनाइएका संरचना तथा सम्बन्धित निकायबाट स्वीकृति नलिई निर्माणाधिन वा निर्माण सम्पन्न भएका संरचना हटाउन सम्बन्धित आयोजनालाई अनुरोध गर्ने निर्णय भएको हो,’ उनले भने।

यस्ता संरचना हटाउन पटकपटक अनुरोध गर्दा समेत स्थानीयले अटेर गर्दै आएका छन्। सडक मिचेर बनाइएका संरचना र निर्माण सामग्रीले सडक दुर्घटना बढ्दै गएपछि तत्काल कार्यान्वयन गर्नेगरी निर्णय गरिएको उनको भनाइ छ।

सार्वजनिक सडकको आवागमनमा बाधा पुर्या‍उने गरी महोत्तरीको बर्दिबासदेखि काभ्रेको धुलिखेलसम्म बीपी राजमार्ग, उदयपुरदेखी मकावनपुरसम्म मदन भण्डारी र सिन्धुलीकै खुर्कोटदेखि उदयपुरको घुर्मीसम्म मध्यपहाडी लोकमार्गका सयौं ठाउँमा सडक मिचेर भौतिक संरचना निर्माण गरिएको छ।

अवरोध हटाउन आवश्यक सामग्रीसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसँग सहयोगका लागि समन्वय गरिने छ। त्यसैगरी सडक दुर्घटनालाई न्युनिकरण गर्न बीपी राजमार्गमा लागु गरिएको टाइम कार्डलाई निरन्तरता दिइने भएको छ।

जिल्ला भित्रका विभिन्न ग्रामीण सडकमा संचालन हुने सवारी साधनको भाडादर समेत निर्धारण गर्न प्रमुख जिल्ला अधिकारी पाण्डेकै संयोजकत्वमा भाडदर निर्माण समितिको गठन गरिएको छ। अन्‍नपूर्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.