हुलाकी न्यूज,काठमाडौँ :नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ। झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र संक्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी अझै केही महिना रोक्ने गरी योजना बनाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए। उनका अनुसार पुस र माघ महिनाभर अनुमतिपत्र खुला नगर्ने योजना बनाइएको छ। उनले भने, ‘त्यसपछिको अवस्था हेरेर निर्णय गरिनेछ।’

लामो समयसम्म अवरुद्ध भएकाले तत्काल खुलाउँदा सेवाग्राहीको धेरै भीड हुनसक्ने देखिएको प्रवक्ता डा भुसालले बताए। नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने र वितरणको काम प्रदेश सरकारले गर्ने भए पनि छाप्ने काम र त्यसको ‘अनलाइन सिस्टम’ विभागसँग हुन्छ।

त्यसैले पनि प्रदेश सरकारले विभागसँगको समन्वयमा मात्रै नयाँ अनुमतिपत्र खुलाउने उनको भनाइ छ। धेरै सेवाग्राहीले ‘अनुमतिपत्र कहिले खुल्छ’ भन्दै विभागमा चासो राखेपछि सम्बन्धित प्रदेशमा नै बुझ्न भनिएको उनले बताए।

प्रदेशले पनि हतारमा खुलाउनेभन्दा तत्काल स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने धारणा राखेका छन्।उनले भने, ‘सेवाग्राहीले हतार गरे पनि सङ्घीय सरकार र प्रदेश सरकार दुवैले अहिले नखुलाउने सोचेका छन्।’

विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमण नेपालमा समेत देखिन थालेपछि सरकारले गत चैतमा बन्दाबन्दी लागू गर्ने निर्णय गरेको थियो। चार महिनासम्म ठप्प भएको सरकारी कार्यालय असारमा मात्रै खुलेका थिए। असारमा यातायात कार्यालयले नवीकरण र वितरण शुरु गरे पनि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएका छैनन्।

विगतमा वर्षमा सेवाग्राहीले अनुमतिपत्र लामो समयसम्म नपाउने गरेकामा यो वर्ष भने विभागले पुरानो बाँकी अनुमतिपत्र छापिसकेको। विभागले ‘मास प्रिन्टर’ बाट झण्डै आठ लाख अनुमतिपत्र छपाइ गरेको थियो। पहिले सेवाग्राहीले लामो समय बित्दा पनि अनुमतिपत्र पाएका थिएनन् भने अहिले धेरैले चाहेर पनि अनुमतिपत्रका लागि परीक्षा दिन पाएका छैनन्। सवारी तालीम केन्द्रले भने अनुमतिपत्र चाँडै खुल्ने भन्दै प्रशिक्षण दिइरहेका छन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.